अदानचुली गाउँपालिका–२ साउबाडामा पाँच दलिय गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच वैशाख २७ गते राति करिब १० बजे झडप भएको छ ।
साउबाडामा नेकपा एमालेबाट अदानचुली गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारहरू घरदैलो गरिरहेको समयमा अदानचुलीस्थित पाँच दलिय गठबन्धनको टोलीले नेकपा एमालेका नेता तथा कार्यकर्ताहरू पछिपछि लागेपछि एमालेका कार्यकर्ताले हाम्रो पार्टीको घरदैलो भइरहेको समयमा किन पछिलागेको भन्दै प्रश्न गर्दा झडप सुरू भएको एमालेका उम्मेदवार दल फडेराले बताउनु भयो ।
झडपमा नेकपा एमालेका सोही गाउँका २० वर्षीय झलक बुढा, अदानचुली गाउँपालिका १ निवासी ५२ वर्षीय वीर थापा घाइते भएका छन् । झडपमा अदानचुली गाउँपालिका २ निवासी काङ्ग्रेस कार्यकर्ता २४ वर्षीय जीवन बुढा घाइते भएका छन् ।
घाइते झलकको विए स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ भने अन्यको स्थानीय मेडिकलमा उपचार भएको स्थानीयबासी मोहन बुढाले जानकारी दिनु भयो ।
घटनाका सम्बन्धमा दुबैपक्षले गल्फागाड प्रहरी चौकी श्रीनगरमा उजुरी दिएको स्थानीय मोहन बुढाले जानकारी दिनु भयो ।
झडपमा स्थानीय घरका क्षतमा रहेका दाती तथा अन्य भौतिक संरचना भत्किएका छन भने सोलार प्लेटमा क्षति भएको साउवाडा गाउँका स्थानीय मोतिलाल महताराले बताउनु भयो ।
यस्तै अदानचुली गाउँपालिका–१ को माथिल्लो गाउँमा नेकपा एमालेबाट वडा अध्यक्ष पदका उम्मेदवार दिपक थापाको घर मोओवादी केन्द्रका कार्यकर्ताले घेराउ गरेका थिए ।
त्यस क्षेत्रमा एमालेका उम्मेदवार र केही नेताहरू घरभित्र बसिरहेको समयमा माओवादी केन्द्रका केही कार्यकर्ताहरूले घरको तल्लो तलामा रहेको गोठमा गई गोप्य कुरा सुनेको समयमा एमालेका कार्यकर्ताले किन हाम्रो घरमा आएर हाम्रो कुरा सुन्नु भएको भन्दा वडा अध्यक्ष पदका उम्मेदवार थापाको घरमा ढुङ्गा प्रहार भएको वडा अध्यक्ष पदका उम्मेदवार दिपक थापाले बताउनु भयो ।
उहाँका अनुसार आफ्नो घरमा बसेका एमाले कार्यकर्तालाई चोटपटक लागेको समेत बताउनु भयो । माओवादी केन्द्रका नेता मानबहादुर थापा आफै संलग्न भई घरमा ढुङ्गा प्रहार गरेको दिपक थापाले आरोप लगाउनु भयो ।
घटनाको थप जानकारीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझ्दा अदानचुलीमा भएको घटना सामान्य रहेको र यसका बारेमा सर्वदलीय बैठक बसिरहेको डीएसपी कृष्णराज ओझाले जानकारी दिनु भयो ।