इलाका प्रहरी कार्यालय, जिरीले ०७९ वैशाख २७ गते राति लिङ्कन बजारबाट १९ जना अपरिचित व्यक्तिलाई गिरफ्तार गरेको छ ।
भ्यान, बोलेरो, स्कारपियो लगायतका पाँच ओटा सवारी साधनमा जिरी आएको सो समूह शंकास्पद लागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
जिरी पुगेपछि पनि गाडी भित्रै लुकेर बसेको देखिएपछि प्रहरीलाई खबर गरेको स्थानीयले बताएका छन् ।
इलाका प्रहरी कार्यालय जिरीबाट खटिएका इन्स्पेक्टरको टोलीसहित सशस्त्र प्रहरी बल समेतको टोलीले उनीहरूलाई प्रहरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुशील केसीले जानकारी दिनु भयो ।
स्थानीयले सोधखोज गर्दा परिचय अस्पष्ट दिएको र अपशब्द प्रयोग गरेका उनिहरू के उद्देश्यले जिरी प्रवेश गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर केसीले बताउनु भयो ।
प्रहरी घटनास्थल पुगेपछि उनीहरू भाग्न थालेपछि स्थानीयले उनीहरू चढेर आएका गाडीमा तोडफोड गरेपछि अवस्था तवाग्रस्त हुन पुगेको र त्यसलाई नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड हवाई फायरिङ पनि गरेको थियो ।
अपरिचित ती व्यक्तिहरूले परिचय लुकाउँदै स्थानीयमाथि नै आक्रमणको प्रयास गरेका थिए ।
