कालिञ्चोक गाउँपालिकामा ०७९ वैशाख २७ गते नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन् ।
कालिञ्चोक गाउँपालिका वडा नम्बर ४ मा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो ।
झडपमा परी एमालेका कार्यकर्ता राजेन्द्र कार्की र कांग्रेसका कार्यकर्ता क्षत्र कार्की घाइते भएका छन् ।
घाइतेमध्ये क्षत्र कार्कीको उपचारका लागि जिल्ला सदरमुकाम चरिकोटस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
अर्का घाइते राजेन्द्र कार्कीको प्राथमिक स्वास्थ्य केन्द्र, सिंगटी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरिक्षक सानु तमाङले जानकारी दिनुभयो ।
क्षत्र कार्कीमाथि एमालेका कार्यकर्ताले धारिलो हतियार प्रहार गरेको बताइएको छ ।
दुई पक्षबीच स्थानीय तह निर्वाचनको विषयलाई लिएर झडप भएको प्रहरीले जनाएको छ ।
