तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जिल्लामा निर्वाचन लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनेको बताउनुभएको छ ।
निर्वाचनलाई स्वच्छ, निश्पक्ष र धाधलि रहित बनाउन प्रशासन प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको कार्यालयले वैशाख २७ गते जिल्लाको मानव अधिकारको अवस्था र निर्वाचन पूर्व अनुगमनको क्रममा प्रजिअ अर्यालले नेपाली सेनाको कमान्डमा चार ओटै सुरक्षा निकाय प्रभावकारी रुपमा परिचालन भइरहेको बताउनुभयो ।
राजनीतिक दलहरुको पटक पटक बैठक राखेर निर्वाचन आचारसंहिताको प्रभावकारी पालनाको लागि जोड दिइएको र निर्वाचन आचारसंहिता उल्लंघन भएको देखिए त्यस्तो अवस्थामा सम्बन्धितलाई सचेत गराइएको प्रजिअ अर्यालले बताउनुभयो ।
निर्वाचनलाई भय रहित, स्वच्छ, निश्पक्ष र धाधलि रहित बनाउन सुरक्षा निकाय, कर्मचारी, राजनितिक दल सबै प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।
स्थानीय विशेष सुरक्षा व्यवस्था गरी निर्वाचन कार्यालय, उम्मेदवार, निर्वाचन सामाग्री, दलको प्रचारप्रसार, मतदान सुरक्षा, मतदान केन्द्र सुरक्षा गरी तीन तहमा सुरक्षा प्रबन्ध गरिएको प्रजिअ अर्यालले जानकारी दिनुभयो ।
जिल्लाका १ सय ३६ ओटै मतदात केन्द्र र २ सय ९७ ओटै मतदान स्थलमा खटिने कर्मचारीको व्यवस्थापन भइ कर्मचारीहरु आफ्नो मतदान केन्द्रमा पुग्ने क्रम जारी रहेको प्रजिअ अर्यालले बताउनुभयो ।
उहाँका अनुसार एउटा मतदान केन्द्रमा २४ जनासम्मको सुरक्षाकर्मी परिचालन गरिने छ ।
अनुगमनको क्रममा इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले इन्सेकले मानव अधिकारको संरक्षणमा कार्य गर्दै आएको र निरन्तर रुपमा निर्वाचनको पर्यवेक्षणको काम गरिरहेको जानकारी गराउनुभयो ।
सो टोलीले जिल्लाका पर्यवक्षेकहरुसँग पनि अन्तरक्रिया गरेको थियो । सो क्रममा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) तनहुँकी अध्यक्ष सोनी शर्माले पर्यवेक्षकहरुले निर्वाचन आचार सहिताको पालनाको अनुगमन र समग्र निर्वाचन कार्यक्रमको अनुगमन गरिरहेको बताउनुभयो । अनुगमन टोलीले मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयको पनि अनुगमन गरेको थियो ।
इन्सेक गण्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेल, इन्सेकका कार्यक्रम अधिकृत सवनम शर्मा, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) का गण्डकी प्रदेश समितिका सदस्य प्रेम सोम्याङ, इन्सेक जिल्ला प्रतिनिधि, नियोक तनहुँ जिल्ला अध्यक्ष सोनी शर्मा सहितको टोलीले जिल्लामा मानव अधिकार र निर्वाचन पूर्व अनुगमन गरेका थिए ।

