देवताल गाँउपालिका–२ दक्षिण झिटकैया निवासी नेपाली काँग्रेसका वडा सदस्यका उम्मेदवार रामबाबु यावदका ३५ वर्षीय छोरा अनिल यादवलाई जनता समाजवादी पार्टीबाट सोही गाँउपालिकाका अध्यक्ष पदका उम्मेदवार ३८ वर्षीय उदयप्रसाद यादव र सोही टोलका २१ वर्षीय रोशन यादवले वैशाख २४ गते धारिलो हतियार र वाँसको लाठी प्रहार गरी घाइते बनाएको पीडित पक्षको आरोप छ ।
खाना खाइरहेको अवस्थामा धारिलो हतीयार र बाँसको लाठीले प्रहार गर्दा दुई जनालाई चिनेको र अन्य ब्याक्तिहरुले आक्रमण गरेको थाहा नपाएको पीडित अनिल यादवले बताउनु भयो ।
धारिलो हतीयार प्रहार गरेपछि बेहोस भएकाले अरु ब्याक्तिहरु मध्ये क–कसले आक्रमण गरे जानकारी नभएको उहाँले बताउनु भयो ।
चुनावमा नगद लिएर आफुलाई भोट दिनका लागि गाउँपालिकाका अध्यक्षका उम्मेदवार उदयप्रसाद यादवले पटक पटक धम्की दिएकोमा आफुले रकम नलिने र भोट पनि नदिने भनेपछि वैशाख २२ गते देखि आक्रमण गर्ने प्रयास गरिरहेको पीडितको आरोप छ ।
पीडितको टाउको, बाँया आँखा र शरिरका विभिन्न स्थानमा धारिलो हतियारले काटेको र बाँसका लठीले प्रहार गर्दा डाम परेको छ ।
पीडितको वैशाख २४ गते कलैया अस्पतालमा प्राथमिक उपचार गरि थप उपचारका लागि नेशनल मेडिकल कलेज बीरगंजमा वैशाख २४ गतेदेखि उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय बारामा वैशाख २५ गते अङ्गभङ्ग मुद्दामा अनुसन्धान गरी कारवाहीका लागि उजुरी दिएको पीडितका बुबा र कांग्रेसका वडा सदस्यका उम्मेदवार रामबाबु यावदले बताउनु भयो । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेश थापाले बताउनु भयो ।