स्थानीय तहको निर्वाचन हुन चार दिन बाँकी रहँदा प्रदेश १ मा निर्वाचन आचारसंहिता विपरितका गतिविधि बढेर गएका छन् ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले जारी गरेको आचारसंहिता प्रदेश १ मा चुनाव मिति नजिकिएसँगै उल्लङ्घन भएको पाइएको हो ।
निर्वाचन आचारसंहिता ०७८ को दफा १२ को ९ ङ मा उम्मेदवारको कार्यालयमा ३×३ फिटको झण्डा र सोही नापको चुनाव चिन्ह बाहेक दलको डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरू प्रदर्शन गर्न नहुने, तोकिएका भन्दा ठूलो साइजका झण्डा, चुनावी प्रचारप्रसारका क्रममा दुई ओटा सवारी साधनको प्रयोग, दलका चुनाव चिन्हृ अङ्कित भेष्टलगायतका सामाग्री उत्पादन, वितरण तथा प्रचारप्रसार आचारसंहिता विपरित भने पनि प्रदेश १ मा राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारहरूले आचारसंहिता उल्लङ्घन गरेको पाइएको छ ।
ताप्लेजुङ प्रतिनिधि देवराज गुरुङका अनुसार स्थानीय तह निर्वाचन ०७९ मा आचारसंहिता विरूद्ध नेकपा एमालेका पार्टी सचिव तथा सङ्घीय सांसद योगेशकुमार भट्टराई भोट माग्दै चुनावी अभियानमा सलंग्न भएको आरोपमा नेपाली कांग्रेस जिल्ला सचिव नन्दकुमार ओझाले वैशाख २५ गते मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिनु भएको छ ।
पूर्व मन्त्रीसमेत रहेका भट्टराईले निर्वाचन आचारसंहिता विपरित फुङलिङ नगरपालिका–३ स्थित पालुङ्वा चोकमा वैशाख २४ गते आयोजित कार्यक्रममा मतदातालाई दोसल्ला ओढाउने र भोज खुवाउने क्रियाकलाप गरेको भन्दै ओझाले उजुरी दिनु भएको हो ।
निर्वाचन आचारसंहिता २०७८ को दफा ४ (क) र सोही दफा ५ (क) को कानुनी प्रावधान समेत उल्लङ्घन गरेको उजुरीमा उल्लेख गरेको छ ।
फुङलिङ नगरपालिकामा नेकपा एमालेबाट मेयर पदका उम्मेदवार छत्रपति प्याकुरेल र वडाध्यक्षका पदका उम्मेदवार टङ्क पालुङ्वासमेत सहभागी कार्यक्रमको तस्बिर भट्टराई आफ्नो फेसबुकमा पोष्ट गर्नु भएको छ । सहायक निर्वाचन अधिकृत पुष्पराज बाँस्तोलाले भट्टराईविरूद्ध निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको विषयमा उजुरी परेको बताउनु भयो ।
सहायक निर्वाचन अधिकृत बाँस्तोलाले भन्नुभयो,“उजुरी दर्ता भएको छ । सम्बन्धित पार्टीमार्फत आरोपितलाई वैशाख २६ गते बेलुकी ५ बजेसम्म प्रतिवादको समय दिएका छौ ।” आचारसंहिता उल्लङ्घन गरे- नगरेको लिखित जवाफसहित पेश गर्न निर्देशन दिएका छौँ ।
यसअघि प्रदेश १, का श्रम उद्योग तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङ्गामविरूद्ध समेत सरकारी सवारी साधन चुनावमा प्रयोग गरेको भन्दै एमाले कार्यालय सचिव लीलाचक्र गुरुङले उजुरी दिनु भएको थियो ।



मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार नेकपा एमालेले वैशाख २६ गते विराटनगरमा आयोजना गरेको चुनावी सभामा निर्वाचन आचारसंहिता विपरित बालबालिकालाई झण्डा बोकाएर कार्यक्रममा सहभागी गराएको छ । विराटनगर महानगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिनु भएकी नमिता न्यौपानेले चुनाव चिन्हृ अङ्कित लालटिन छाप झण्डा र व्यानरले विराटनगर महानगरपालिका–२ मा सजिसजाऊ गरिएको छ । नेपाली कांग्रेसले थनपालथान गाउँपालिकामा चुनावी अभियानमा सहभागी गराउन आचारसंहिता विपरित बालिबालिकालाई ट्रयाक्टरमा राखेर कार्यक्रमा सहभागी गराएको छ । विराटनगर महानगरपालिका मेयर उपमेयरलगायतका पदमा उम्मेदवारी दिएका अधिकांश उम्मेदवारले स्थानीय पत्रपत्रिकामा आचारसंहिता विपरित विज्ञापन छापेर भोट मागेका छन् ।




खोटाङ प्रतिनिधि तारानाथ फुयलका अनुसार जिल्लामा राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारले निर्वाचन आचारसंहिता विपरित बालबालिकालाई चुनावी अभियानमा सहभागी गराएका छन् । जिल्लाका राजनीतिक दलहरूले मुख्य निर्वाचन अधिकृत मात्रिकाप्रसाद आर्चायको निर्देशनलाई अवज्ञा गरेका छन् । निर्वाचन अधिकृत आर्चायले सर्वपक्षीय बैठकमा आचारसंहिता विपरितका प्रचार सामग्री र झण्डाहरू बजार क्षेत्रबाट हटाउन निर्देशन दिएपनि जिल्लाका राजनीतिक दल र उम्मेदवारहरूले निर्वाचन अधिकृतको निर्देशनलाई अवज्ञा गरेका हुन् । दिक्तेल बजारमा चुनावी गतिविधिका लागि मापदण्ड विपरितका झण्डा, व्यानर र तुलको प्रयोग गरिएको छ । वैशाख २० गते भित्र सबै प्रकारका चुनावी प्रचारप्रसार सामग्री हटाउन मुख्य निर्वाचन अधिकृतले निर्देशन दिएपनि कसैले पालना गरेका छैनन् । घरदैलो अभियानका क्रममा मापदण्ड विपरितका कार्यहरू जिल्लामा भएका छन् ।






