जिल्लाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा वैशाख ३० गते हुन निर्वाचनका लागि मतदान सामग्री पठाउन थालिएको छ । भोटखोला पुग्न गाडी र पैदल गरेर चार दिन सम्म लाग्छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले ३० गते हुने स्थानीय तह निर्वाचनका लागि भोटखोला गाउँपालिकामा मतदान सामग्री र मतदान अधिकृतसहितको टोली पठाएको छ ।
वैशाख २४ गते पहिलो चरणमा भोटखोला गाउँपालिकाको १० ओटा मतदान केन्द्रका लागि मतदान सामग्रीसहित मतदान अधिकृत पठाइएको मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
सदरमुकाम खाँदवारीबाट भोटखोला गाउँपालिकाको मतदान केन्द्रमा पुग्न चार दिन लाग्ने भएकाले वैशाख २४ गतेदेखि मतदान सामग्री पठाउन थालिएको मुख्य निर्वाचन अधिकृत आचार्यले बताउनु भयो । भोटखोला गाउँपालिकामा पाँच ओटा वडामा १० ओटा मतदान केन्द्र कायम गरिएको छ ।
जिल्लाभर शान्ति सुरक्षाको तयारी पुरा गरी वैशाख २४ गतेबाट मतदान अधिकृतसहितको टोली पठाउन सुरू गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सदरमुकाम खाँदवारीबाट भोटखोला जानुअघि भोटखोला गाउँपालिकाका निर्वाचन अधिकृत मोहनमणि घिमिरेले भोटखोला गाउँपालिका हिमाली क्षेत्र र अति विकट भएकाले भुगोल अनुसार तयारी गरेर जानु पर्ने बताउनु भयो । उहाँले भोटखोला गाउँपालिकासम्म पुग्न गाडी र पैदल हिड्नु पर्ने भएकाले आवश्यक कपडासहित औषधि, खानपिन लगायतका सामाग्री बोक्नु पर्ने बताउनु भयो ।
भोटखोला क्षेत्रमा फोन समस्या हुन सक्ने र निर्वाचनको अवधिमा समस्या आए तत्काल कुनै माध्यमबाट सम्पर्क गर्न मतदान अधिकृतलाई आग्रह गर्नु भयो । जिल्लामा स्थानीय तह निर्वाचनका लागि १ सय ६२ ओटा मतदान केन्दमा सुरक्षा निकाय बाहेक करिव ८ सय कर्मचारी खटाइएको छ ।
जिल्लामा ६० हजार ६ सय ७८ जना पुरूष र ५७ हजार ५३ जना महिला गरी १ लाख १७ हजार ७ सय ३१ जना मतदाता रहेका छन् । भौगोलिक विकटता, सुरक्षा निकायको पहुँचदेखि टाढा, यातायात र सञ्चारको असुविधा यस अघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर अति सम्वेदनशील, सम्वेदनशील र सामान्य गरी मतदानस्थल तथा केन्द्र छुट्याइएको प्रशासनले जनाएको छ ।
सुरक्षालाई मजबुत बनाउनका लागि १ हजार ८ सय सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताउनु भयो । प्रत्येक मतदानस्थलको भित्री घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी खटिने गरी व्यवस्था मिलाइएको छ । त्यस भन्दा बाहिरी घेरामा सशस्त्र प्रहरी र त्यस भन्दा बाहिरी घेरा नेपाली सेनाले कभर गर्ने बताइएको छ ।
स्थानीय तह निर्वाचन लागि जिल्लाका १० ओटा स्थानीय तहका १ सय ३ ओटा मतदान स्थलमध्ये सुरक्षा सम्वेदनशीलताका हिसाबले आठ ओटा मतदानस्थललाई अति सम्वेदनशील मानिएको छ ।
मतदान केन्द्रहरू सम्वेदनशीलता हेरेर सोही अनुसार सुरक्षा प्रबन्ध मिलाएर नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीले सुरक्षा गस्ती गरिरहेको गरेको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताउनु भएको छ ।


