INSEC Online

📅 २०८३ जेष्ठ २१

भोज खाएर फर्केका ५० जना भन्दा बढी स्थानीय बिरामी

गंगादेव गाउँपालिकामा –४ भिताका मोटु ओलीको १३ दिने शुद्ध शान्तिको भोज खाएर घर फर्केका ५० जना भन्दा बढी स्थानीयहरू बिरामी भएका छन ।

वैशाख २४ गते दिउँसो भोज भतेरमा गएका स्थानीयहरू खाना खाएको करिब तीन घण्टा पछि बिरामी भएका स्थानीय लेखनाथ ओलीले जानकारी दिनुभयो ।

भोज खाना गएका अधिकांशलाई बान्ता गर्ने, पखाला लाग्ने, रिङ्गाटा लाग्ने समस्या देखिएको छ ।

गंगादेव गाउँपालिका स्वास्थय शाखा प्रमुख त्रिभुवन घर्तीका अनुसार २७ जनालाई स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको र अन्य सात जनालाई स्वास्थ्यर्कीहरूको निगरानीमा  घरमै उपचार गरिएको बताउनु भयो । अहिले अवस्था सामान्य भएपनि २४ घण्टा सम्म स्वास्थ्यकर्मीहरूले निगरानीमा राखिने बताउनुभयो ।

घर्तीका अनुसार हालसम्म ३४ जना आफ्नो सम्पर्कमा रहेका र अन्य बिरामीहरू मेडिकलमा उपचार गराइरहेको हुनसक्ने बताउनु भयो ।

गाउँका स्थानीय सबै एक्कासी बिरामी भएपछि गाउँलेहरू आतंकित भएका थिए । एक्कासी सबै गाउँले बिरामी हुँदा स्थानीय स्वास्थ्य चौकीमा उपचारमा समस्या हुनुका साथै अन्यत्र उपचार गर्न लैजान गाडी समेत नपाइएको स्थानीयले बताएका छन ।

गाउँमा रहेका साना गाडीहरू निर्वाचनकालागि रिजर्बमा गएकोले अन्यत्र उपचारमा लैजान समस्या भएको थियो । पानी परेर बाटो विग्रेका कारण बाहिरबाट जाने गाडीहरू जान समेत नसकेकाले समस्या भएको छ ।

स्वास्थ्य शाखा प्रमुख त्रिभुवन घर्तीका अनुसार टमाटरको बोटमा बिहान विषादी छर्कीएको र सोही टमाटर विक्रि गरिएको भन्ने सुन्नमा आएपनि पुष्टि हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर थमन जिसिका अनुसार बिरामीहरूलाई स्थानीय स्वास्थ्य चौकी तथा मेडिकलमा  उपचारपछि डिसचार्ज गरिएको र बिरामीहरुको अवस्था सामान्य रहको बताउनु भयो ।

अन्य

भिडियो