प्रदेश १ मा स्थानीय तह निर्वाचन नजिकिएसँगै निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढेर गएका छन् ।
खोटाङ प्रतिनिधि तारानाथ फुयलका अनुसार चुनाव मिति नजिकिएसँगै जिल्लामा मतदातालाई प्रभावित पार्न निर्वाचन आचारसंहिता विपरितका गतिविधि बढेका छन् । मतदातालाई प्रभावित पार्न दिक्तेल रूपाकोट मझुवागढी–९ का मतदातालाई प्रभावित पार्न को २ त १९५४ नम्वरको ट्रयाक्टरमा ४० थान टनेल, १६ थान जस्तापाता र एक थान सिलिण्डर ग्यास प्रहरीले दक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बाट नियन्त्रणमा लिएको छ ।
आचारसंहिता विपरित मतदातालाई प्रभावित पार्न विभिन्न सामग्री लगिएको सूचनाका आधारमा ट्रयाक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी उमेश लम्सालले बताउनु भयो । सामग्रीका विषयमा अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताउनु भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– ४ मा आचारसंहिता विपरित १६ क्याएल पाइप वितरणका लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर खानीडाडास्थित प्रहरी चौकीमा राखेको छ ।
निर्वाचन आचारसंहिता विपरित कसले र कहिले वितरणका लागि लगिएको हो भन्ने विषय प्रहरीले गोप्य राखेको छ । जिल्लामा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले आचारसंहिता उल्लङ्घन नगर्नका लागि वैशाख २२ गते सार्वजनिक सूचना जारी गरेको छ ।

झापा प्रतिनिधि नरेश खातीका अनुसार विर्तामोड नगरपालिकाका नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार भोजराज सिटौलाले निर्वाचन आचारसंहिता २०७८ विपरीत प्रचारप्रसार गरेको पाइएको छ ।
निर्वाचन प्रचारप्रसार कार्यक्रममा मापदण्ड विपरीत झण्डा, ब्यानर राखी, माइक बजाई आचारसहिता उल्लङघन गरेको पाइएको हो । नेकपा एमालेका अर्जुनधारा नगरपालिका- ६ वडाध्यक्षका पदका उम्मेदवार दिवाकरलाल चौधरीको प्रचारप्रसार समूहले मत माग्न पिकपभेनमा मापदण्ड विपरीतका झण्डा र ब्यानर राखी निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको छ ।
निर्वाचन आचारसहिता २०७८ को दफा १२ को ९ड० मा उम्मेदवारको कार्यालयमा ३×३ फिटको झण्डा र सोही नापको चुनाव चिन्ह बाहेक दलको डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामण्रीहरु प्रदर्शन गर्न नहुने भनी उल्लेख छ ।


सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार रामधुनी नगरपालिका–८ बाट वडाध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराउनु भएका ६२ वर्षीय गणेशबहादुर पौडेलको अपहरण भएको परिवारले आरोप लगाएको छ । पहिले नेपाली कांग्रेसमा रहेको र टिकट नपाएपछि स्वतन्त्र उम्मेदबार बन्नु भएका पौडेल वैशाख २१ गते इनरूवा नगरपालिकातिर काम विषेशले आएको बेलामा परिवारको सम्पर्कमा नआएपछि अपहरण भएको पीडित परिवारको आरोप छ । केहीले नेपाली कांग्रेसबाट टिकट नपाएकाले कांग्रेसकै साथीहरूबाट एकान्तमा लगिएको र केहीले अपहरण भएको आशङ्का गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नरेन्द्रकुमार कार्कीले घटनाका विषयमा अनुसन्धान भइरहेको बताउनु भएको छ । स्थानीय तह निर्वाचनको माहोलमा दाईको अपहरण भएको ४५ वर्षीय भाई सन्तोष पौडेलको आरोप छ ।
