निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनमा आवश्यक पर्ने सबै जिल्लाको लागि मतपत्रको छपाइ कार्य सम्पन्न भएको जनाएको छ ।
आयोगले वैशाख २२ गते आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता प्रवक्ता शालिग्राम शर्मा पौडेलले ७७ ओटै जिल्लाको मतपत्र छपाइ कार्य सकिएको र वैशाख २३ गतेसम्म सबै जिल्लामा मतपत्र ढुवानी सम्पन्न हुने जानकारी दिनुभयो ।
प्रवक्ता पौडेलले मतदान सम्पन्न गर्न खटिएका सम्पूर्ण कर्मचारीहरूलाई अनिवार्य रूपमा आफू खटिएका ठाउँमा अबिलम्व जान र आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्न आयोगले निर्देशन दिनुभयो ।
उहाँले स्थानीय तह निर्वाचनका लागि खटिएका कर्मचारी र मतगणकहरूलाई अति जरुरी मानवीय र संवेदनशील कारण परेको अवस्थामा बाहेक फेरबदल गर्न नपाईने बताउनुभयो ।
यदि उपयुक्त कारण परेको अवस्थामा बाहेक आयोगले खटाएका कुनै पनि कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा प्रचलित कानून बमोजिम कडा कारबाही गर्न मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई आयोगले निर्देशन दिएको प्रवक्ता पौडेलले उल्लेख गर्नुभयो ।