गंगाजमुना गाउँपालिको वडा नं. २ को स्थानीय पसलमा बिक्रीका लागि सदरमुकाम धादिङबेसीबाट खरिद गरी गाउँ लैजाँदै गरेको सामान नेपाली कांग्रेस वडा अध्यक्षका उम्मेदवारले लुटेको पसल व्यवसायीले आरोप लगाएका छन् ।
गंगाजमुना गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष उम्मेदवारबाटै पसलको सामान लुटिएको भन्दै गंगाजमुना गाउँपालिका तावलका मनमाया तामाङले न्याय खोज्दै जिल्ला प्रहरी कार्यालयमा वैशाख २१ गते उजुरी दिनुभएको छ ।
गंगाजमुना गाउँपालिका वडा नम्बर २ तावलमामा रहेको रहेला रोजी एण्ड रोजन इन्टरप्राईजेज नामको होलसेल पसलमा बिक्रीका लागि लैजाँदै गरिएको करिब पाँच लाख मूल्य बराबरको सामान वैशाख १९ गते गाउँ नपुग्दै लुटिएको पसलका सञ्चालक तामाङले बताउनुभयो ।
सदरमुकाम धादिङबेसीबाट खरिद गरी बा ३ ख९२७४ नम्बरको स्वराज ट्रकमा राखेर गाउँ लैजाँदै गरेको दाल, चिनी, प्लाई, पेट्रोल, डीजेल, चामल, खानेपानी पाईपसमेत गरी ५ लाख मूल्य बराबरको सामान लुटिएको उहाँले बताउनु भयो ।
गंगाजमुना गाउँपालिका वडा नम्बर ३ छ्याप्लेखोलाबाट सवारीसाधन समेत लुटिएकोले क्षतिपूर्ति समेत माग गर्दै आरोपितहरुलाई कारबाहीका माग गर्दै जिल्ला प्रहरी कार्यालयमा वैशाख २१ गते उजुरी दर्ता गराइएको तामाङले बताउनु भयो ।
सामान लुटपाटमा नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार बलबहादुर तामाङको नेतृत्वमा ५/६ ओटा मोटरसाइकलमा आएका सत्ता गठबन्धनका कार्यकर्ताहरुले लुटेकोले समान जस्ताको तस्तै फिर्ता पाउन, क्षतिपूर्ति भराउन र लुटपाट गर्नेहरूलाई कारबाही गर्न माग गरिएको पीडित परिवारले वैशाख २२ गते धादिङबेसीमा पत्रकारहरू समक्ष बताउनुभयो ।
सामान बोकेर जाँदै गरेको ट्रकलाई चिम्चोक गाउँको वनबाट अघि बढ्न नदिइ गुम्दीतर्फ फर्काएर वडाअध्यक्ष उम्मेदवार बलबहादुरको समूहले लुटेको उजुरीमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालयले जाहेरी प्राप्त हुनासाथ जिल्ला प्रशासनलाई पठाएको जनाएको छ । प्रशासन कार्यालयले पनि इलाका प्रहरी कार्यालय फुलखर्क गंगाजमुनालाई वैशाख २१ नै पत्र पठाइ घटनाको यथार्थ बुझी हराएको सामान खोजी गर्न प्रहरीलाई निर्देशन दिएको छ ।
नेपाली कांग्रेसको टोलीले भने पसलको सामानसँगै चुनावको मुखमा गाउँमा बाँड्न एमालेका उम्मेदवारले पाइप ल्याएको आरोपमा पाइप नियन्त्रणमा लिएको बताएको छ ।
नेपाली कांग्रेसका उम्मेदवारले लगाएको आरोप झुटो भएको र समान अहिले बाँड्न नपर्ने गरी यस अघि नै गाउँमा एमालेले विकासका काम गर्दै आएका एमाले धादिङका इन्चार्ज एवम् प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का सांसद खेमप्रसाद लोहनी बताउनुभयो ।