स्थानीय तह सदस्य निर्वाचनमा ४० जना मुस्लिम महिला उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पछिल्लो समय मुस्लिम, मधेश, सिमान्तकृत र पछाडि पारिएका समूदायका महिलाहरूकाे समाजिक तथा राजनीतिक सहभागिता बढ्दै गएको छ ।
इन्सेक र राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जको टोलीले निर्वाचन तयारीको अवस्था बुझ्न वैशाख २२ गते मुख्य निर्वाचन अधिकृतकाको कार्यालय पुगेको टोलीलाई सहायक निर्वाचन अधिकृत नगेन्द्र चौँलागाईंले उक्त जानकारी दिएको हो ।
निर्वाचन कार्यालयका अनुसार बाँकेमा १ सय ३६ मतदान स्थल र ३ सय ७९ मतदान केन्द्र रहेका छन् । जसमा पुरुष १ लाख ६७ हजार ३ सय ४९ जना , १ लाख ६२ हजार १ सय १७ जना महिला र अन्य सात जना गरी ३ लाख २९ हजार ४ सय ७३ जना मतदाताहरूका लागि ३ लाख ५६ हजार मतपत्र जिल्लामा आएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतपत्र प्याकिङ गरी मतदान केन्द्रमा पठाउने तयारीमा जुटेको जनाउदै हालसम्म आचार संहिता उल्लङ्घनको उजुरी नपरेको जनाएको छ ।

गुल्मी प्रतिनिधि टोपलाल अर्यालका अनुसार जिल्ला निर्वाचन कार्यालयको आयोजनामा धुर्कोट गाउँपालिकामा वैशाख २२ गते नमुना मतदान सम्पन्न भएको छ । बदर मत कम गर्ने उद्देश्यले नमुना मतदान गरिएको हो । निर्वाचन कार्यालयले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले नमुना मतदान गराएको हो । दुई घण्टासम्म भएको नमुना मतदानमा ४१ महिला र ४९ पुरुष गरेर ९० जनाले मतदान गरेका थिए । जसमा १२ मत बदर भएका थिए । स्थानीय ८५ वर्षीय वृद्ध ढुण्डीराज भण्डारीले पहिलो मत खसालेको धुर्कोट गाउँपालिकाका निर्वाचन अधिकृत मुना पौडेलले जानकारी दिनुभयो । स्थानीय सबै उमेर समुहका विद्यार्थी, क्लव, राजनीतिक दल र नागरिक समाजका प्रतिनिधिले मतदान गरेका थिए ।
