INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीय तह निर्वाचन ०७९– प्रदेश १ मा ३३ लाख बढी मतदाता, उचित मतदाता शिक्षा अभावमा मत बदर हुने जोखिम

१६ लाख ९९ हजार ८ सय जना पुरूष मतदाता, १६ हजार ४७ हजार ५ सय ६१ जना महिला मतदाता र अन्य २३ जना गरी ३३ लाख ४७ हजार ३ सय ८४ जना मतदाता वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रदेश १ बाट सहभागी हुँदैछन् । तर उचित मतदाता शिक्षा अभावमा धेरै मतहरू बदर हुने जोखिम देखिएको छ ।

नेपालले नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी सन् १९६६ लाई विस ०३२ चैत १० गते पक्ष राष्ट्रको रूपमा अनुमोदन गरी लागू गरेको छ ।

नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धीले धारा २५ मा प्रत्येक नागरिकलाई प्रत्यक्ष रूपमा वा स्वतन्त्र रूपमा प्रतिनिधि छनौट गर्न वा छानिएका प्रतिनिधिहरूमार्फत् सार्वजनिक जीवन सञ्चालनमा भाग लिने पाउने अधिकार सुनिश्चित गरेको छ ।

सोही धारामा सर्वव्यापी तथा समान मताधिकारबाट र गोप्य मतदानबाट मतदाताहरूको इच्छाको स्वतन्त्र अभिव्यक्तिको प्रत्याभूति गर्ने निर्वाचनहरूमा मतदान गर्ने र निर्वाचित हुने अधिकारलाई सुनिश्चित गरेको छ ।

नेपाल संविधानले भाग २४, धारा २४५ मा निर्वाचन आयोगलाई संवैधानिक निकायका रूपमा व्यवस्था गरेको छ । निर्वाचन आयोगले १८ वर्ष पुरा भएका प्रत्येक नागरिकलाई बालिग मताधिकारको अधिकार प्रदान गरेको छ । निर्वाचन आयोगले बालिग मताधिकारलाई नागरिक अधिकार भनि परिभाषित गरेको छ ।

०७९ वैशाख २९ गते १८ वर्ष उमेर पुरा भएका र मतदाता नामावलीमा विवरण सङ्कलन गराएकाहरूलाई निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदान प्रदान गर्न अनुमति दिनेछ । तर प्रदेश १ मा उचित मतदाता शिक्षाका अभावमा मतहरू बदर हुने सम्भावना बढेर गएको छ ।

मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार जिल्लामा मतदाता शिक्षा कार्यक्रम अभावका कारण धेरै मतहरू बदर हुने सम्भावना देखिएको छ । ०७४ सालको स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिकामा मेयर पदका उम्मेदवार उमेश यादवले प्राप्त गरेको मतमध्ये ११ हजार मत बदर हुँदा यादवले मेयर पदमा हार्नु परेको थियो ।

सोही निरन्तरता यस पटक समेत जिल्लाभर साथै विराटनगर महानगरपालिकामा दोहोरिने सम्भावना बढेर गएको छ । महानगरपालिकाभित्रै अत्यधिक मत बदर भएको विगतको निर्वाचनमा देखिएको छ । निर्वाचन आयोगले वैशाख २९ र ३० गते मतदान केन्द्रमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यक अधिकारी बताउनु हुन्छ । स्थानीय तह निर्वाचनमा मतपत्र ठूलो हुने भएका कारण मत धेरै मतहरू बदर हुन सक्ने निश्कर्ष निर्वाचन आयोगले निकालेको भएपनि प्रर्याप्त बजेट अभावका कारण यसपटक मतदाता शिक्षा कार्यक्रम मतदान केन्द्रमा सञ्चालन गर्ने तयारी गरेको अधिकारीको भनाइ छ ।

चुनाव मुखैमा आएपछि केही युवापुस्ताले इन्टरनेटको प्रयोग गरी कसरी सही ढङ्गले मतदान गर्न सकिन्छ भनेर ज्ञान लिएको विराटनगर महानगरपालिका–१४ का २५ वर्षीय प्रकाश थापाको भनाइ छ । थापाले मतदान कसरी गर्ने भन्ने विषयमा सिकाउन कोही नआएको बताउनु भयो । इन्टरनेटको प्रयोग गर्न नआउने, साधारण लेखपढ गरेका र ज्येष्ठ नागरिकलाई कसरी मतदान गरे मत सदर हुने र कसरी भोट दिए मत बदर हुने भन्ने विषयमा जानकारी दिन न त मतदाता शिक्षाका प्रतिनिधि आएका छन् न त उम्मेदवारले भोट माग्न आउँदा भोट हाल्न सिकाएका छन्, जसका कारण विराटनगर महानगरपालिकामा यस पटक समेत धेरै मतहरू बदर हुने जोखिम बढेर गएको छ । भोट कसरी हाल्ने भन्ने कोही कसैले नसिकाएको तर आफ्नै इच्छा बमोजिम भोट हाल्न आफू तयार रहेको विराटनगर महानगरपालिका–१० की २५ वर्षीया गीता शाहले बताउनु भयो ।

विराटनगरमा महानगरपालिकामा स्थानीय तह निर्वाचन ०७४ मा ११ हजार मत बदर भएपछि त्यसबेलाका मेयर पदका उम्मेदवार उमेश यादवले चुनाव हार्नु परेको थियो । निर्वाचन आयोगले ०७४ सालको निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेपनि त्यसको प्रभावकारीता एकदमै न्यून परेको थियो । यस पटक निर्वाचनका लागि वैशाख २९ र ३० गते मतदाता शिक्षा कार्यक्रम सञ्चालन मतदान केन्द्रमा सञ्चालन गरिने भएका कारण विराटनगर महानगरपालिकासहित जिल्लाभर मत बदर हुने सम्भावना बढी रहेको छ ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा भोटर लिष्टमा नाम समावेश भएर अस्थायी रूपमा विराटनगर महानगरपालिका–१४ मा बस्दै आउनु  भएकी २५ वर्षीया भूमिका भुजेल भोट हाल्न भोजपुर जाने तयारीमा हुनुहुन्छ । पहिलो पटक मतदान गर्न लाग्नु भएकी भुजेललाई सही ढङ्गले कसरी मतदान गर्ने हो सो विषयमा जानकारी नै छैन । मतदान कसरी गर्ने भन्ने विषयमा कसैले न सिकाएको भएपनि विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय वहुकाही यादवले धेरै पटक मतदान गरीसक्नु भएको छ । तर उहाँको भोट सदर हुन्छ वा बदर हुन्छ । सो विषयमा यादवलाई कुनै जानकारी नै छैन । नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धीले धारा २५ मा प्रत्येक नागरिकलाई प्रत्यक्ष रूपमा वा स्वतन्त्र रूपमा प्रतिनिधि छनौट गर्न वा छानिएका प्रतिनिधिहरूमार्फत् सार्वजनिक जीवन सञ्चालनमा भाग लिने पाउने अधिकार सुनिश्चित गरेको छ । तर निर्वाचन आयोग र उम्मेदवारहरूले मतदाता शिक्षालाई प्रभावकारी नबनाउँदा बालिक मताधिकारको संविधान प्रदत्त अधिकारको उचित सम्बोधन हुन सकेन छैन ।

धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार स्थानीय तहको निर्वाचन मुखैमा आएपनि जिल्लाका मतदाता कसरी भोट खसालेमा सदर र कसरी भोट दिएमा बदर हुन्छ भन्ने कुरामा अन्यौलमै छन् । स्थानीय तह निर्वाचन ०७४ मा जस्तो जिल्लामा घरघरै मतदाता शिक्षा कार्यक्रम यस पटक भएको छैन । निर्वाचन कार्यालय, राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवार अथवा अन्य सम्बन्धित सरोकारवाला निकायहरूले मतदाता शिक्षालाई प्राथमिकतामा नराखेका कारण मतदाताहरू अलमलमा छन् । निर्वाचन आयोगले यस पटक वैशाख २९ र ३० गते मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । मतदाता शिक्षा छोटो समय सञ्चालन हुँदा धेरै मतहरु बदर हुने सम्भावना बढेर गएको छ । धनकुटा नगरपालिका–२ भीरगाउँका गणेश कार्कीले आसन्न स्थानीय तहको निर्वाचनमा कसरी मतदान गर्ने भन्ने बारे अनविज्ञ रहेको बताउनु भयो । जिल्लामा मतदाता शिक्षा सञ्चालन नहुँदा आफू जस्तै धेरै मतदाता अन्यौलमा परेको उहाँको भनाइ छ ।

दलहरूबिच चुनावी गठबन्धन भएको कारण र मतदाता शिक्षा सञ्चालन नभएका कारण मतहरु बदर हुने सम्भावना रहेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी जयराम श्रेष्ठले बताउनु भयो । उहाँले बजेट अभावका कारण यसपटक  निर्वाचन आयोगले मतदाता शिक्षाको कार्यक्रम सञ्चालन गर्न नसकेको बताउनु भयो । गैरसरकारी क्षेत्रबाट पनि मतदाता शिक्षासम्बन्धी कार्यक्रमहरू हुन नसकेकोले समस्या देखिएको छ । जिल्लामा १ लाख १५ हजार ९ सय ६४ जना मतदाता छन ।

मतदाता शिक्षा प्रभावकारी नहुँदा बदर मत बढेको निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठ बताउनु हुन्छ । ‘मतदाता शिक्षा अभावले बढी मत बदर भएको यसअघिका निर्वाचनमा देखिएको छ’, श्रेष्ठले भन्नुभयो । ‘आयोगले मतदाता शिक्षा त सञ्चालन गर्छ । तर, त्यो सञ्चालन गर्ने व्यक्ति÷समूहले राम्रोसँग काम गरिदिँदैनन्।’ आयोगले आधुनिक प्रविधिको प्रयोग गर्न अस्वीकार गरेका कारण धेरै मत बदर भएको श्रेष्ठको भनाइ छ । उहाँका अनुसार विद्युतीय मतदान उपकरणको प्रयोगमा मतपत्रको डिजाइन, रङ र मतदाता शिक्षाको अभावलगायत कारणले धेरै मत बदर हुने सम्भावना छ । छाप लगाउने प्रक्रिया, मतपत्रको रङ, मसीको रङ, स्वस्तिक छापको रबरका कारण मत बदर हुन्छ । कहिलेकाहीँ मतदान अधिकृत आत्तिएर वा भुलेर मतपत्रमा हस्ताक्षर गर्न बिर्सने गर्दा पनि मतपत्र बदर हुने गरेको श्रेष्ठको भनाइ  छ ।

मतदाताले स्वस्तिक छाप सही रूपमा लगाउन नजान्दा वा नचाहँदा मत बदर हुन्छ । यस्तै, एउटै चुनाव चिह्नमा धेरैपटक स्वस्तिक चिह्नको प्रयोग गरेको भेटिन्छ । स्वस्तिक चिह्नको सट्टा औंठाछाप लगाएको, चुनाव चिह्नमा डटपेनको प्रयोग गरेको पाइन्छ । तोकिएको घेराभित्र स्वस्तिक छाप पार्न नसक्ने, एउटै पदमा धेरै उम्मेदवारलाई मतदान गरेका मतपत्र भेटिन्छ । दलहरूबीच गठबन्धन गर्दा उम्मेदवारी फिर्ता भएकालाई पनि मतदान गर्ने गरेको निर्वाचन कार्यालयले जनाएको छ । अर्कातर्फ धेरै मतपत्रका कारण मतदाता अलमल भई कोठाभित्र सही रूपमा स्वस्तिक छाप लगाउन नसकेका मतपत्र बदर हुने निर्वाचन आयोगको निश्कर्ष छ ।

निर्वाचन आयोगले २०६४ सालदेखि मतदाता शिक्षाको घरदैलो कार्यक्रम सञ्चालनमा ल्याएको थियो । तर, त्यो प्रभावकारी भएन । यसपटक स्थानीय निर्वाचनमा मतदान केन्द्रमै सूचना केन्द्र राख्ने आयोगको तयारी छ । यसपटक घरदैलो कार्यक्रम हटाइएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले वैशाख २९ र ३० गते मतदान केन्द्रमै मतदान सूचना केन्द्र बनाएर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको छ । बोस्रर, सामाजिक सञ्जाल, अनलाइन मिडियालगायत माध्यमबाट भने कार्यक्रम जारी रहेको निर्वाचन कार्र्यालयले जनाएको छ ।

हरेक निर्वाचनमा ठूलो सङ्ख्यामा मत बदर भइरहे पनि राजनीतिक दलले ‘गम्भीरतापूर्वक’ लिएका छैनन् । दलहरूको संरचना गाउँ–गाउँसम्म हुने हुँदा उनीहरूले राम्रोसँग मतदाता शिक्षा कार्यक्रम गर्दा सहज हुने निर्वाचन कार्यालयको आग्रह छ । ‘पार्टीको संयन्त्र परिचालन गर्ने हो मत बदर स्वतः घट्छ त्यसकारण राजनीतिक दल सक्रिय हुनुपर्छ,’ निर्वाचन अधिकारी जयराम श्रेष्ठ भन्नु हुन्छ, ‘उनीहरूको संयन्त्र तल्लो तहमा छ । तर, उनीहरूको संयन्त्रले काम नगरेको अवस्था छ ।’

नेपाली कांग्रेस धनकुटा सचिव विजयसन्तोषी राई भने यसमा आयोग र दल दुवैको कमजोरी रहेको बताउनु हुन्छ । ‘मतदाता शिक्षा प्रभावकारी नहुँदा नै मत बदर भइरहेको छ ।,’ सचिब राई भन्नुहुन्छ, ‘मतदाता शिक्षा दिने दायित्व आयोग र पार्टीहरूको हो । आयोगले पनि प्रभावकारी रूपमा शिक्षा दिनुपर्छ ।’

एमाले धनकुटाका सचिव निरन राई पनि मतदाता शिक्षाको अभाव मुख्य कारक रहेको बताउनु हुन्छ । दलहरूले गठबन्धन गरेर एउटै मतपत्रमा धेरै ठाउँमा मतदान गराउन लगाउँदा समस्या भएको नेता राईको भनाइ छ । ‘एउटै मतपत्रमा पनि भिन्नभिन्न उम्मेदवारलाई फरक–फरक चिह्नमा मतदान गराउन खोज्दा बदर हुन्छ’, राई भन्नुहुन्छ, ‘२०७४ मा वाम गठबन्धन भयो । सङ्घमा एउटा, प्रदेशमा अर्काे र समानुपातिकमा आफ्नै दलको चिह्न खोजेर भोट हाल्नुपर्ने अवस्था भयो । मतदाता अलमलमा पर्दा त्यतिबेला धेरै मत बदर भयो ।’

माओवादी केन्द्र धनकुटाका संयोजक डिल्लीराम राई भने बदर मत सङ्ख्या घटाउने मुख्य दायित्व निर्वाचन आयोगकै भएको तर्क गर्नुहुन्छ । यसमा आयोग गैरजिम्मेवार भएको नेता राईको आरोप छ । ‘निर्वाचन आयोगले मतदाता शिक्षाको नाममा करोडौं खर्च गर्छ ।’, राई भन्नु हुन्छ, ‘त्यो पैसा कहाँ जान्छ ? थाहा छैन । मतदाताले कुनै शिक्षा पाएका छैनन् ।’ दल र उम्मेदवारको पनि दायित्व भए पनि सबैभन्दा ठूलो भूमिका आयोगकै भएको उहाँको भनाइ छ ।

एकीकृत समाजवादी धनकुटाका अध्यक्ष अर्जुन राई मतदाता अशिक्षित भएका कारण मत दिँदा धेरै बिग्रिने गरेको बताउनु हुन्छ । ‘गाउँघरका धेरै मानिस पढेलेखेका हुँदैनन् । उनीहरू जानकार पनि हुँदैनन् । भोट यसमा दे त भन्छन् । तर, कसरी दिने भनेर नसिकाएका कारण मत बदर हुने गरेको छ ।’ घरदैलो गरे पनि मतदाता शिक्षा दिने विषयमा दलहरूको कम चासो भएका कारण धेरै मत बिग्रिने उहाँको भनाइ छ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि जिल्लामा २७ लहरको मतपत्र हुनेछ ।

मत बदर कम गर्न आधुनिक प्रविधिको प्रयोग गर्नुपर्ने विज्ञ बताउँछन् । विद्युतीय उपकरणको प्रयोगले मात्रै मत बदर रोकिने उनीहरूको तर्क छ । पत्रकार महासङ्घ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राई मत बदर रोक्न सबैभन्दा महत्वपूर्ण विकल्प नै  विद्युतीय उपकरणको प्रयोग भएको बताउनु हुन्छ । ‘पहिलो र सबभन्दा राम्रो भनेकै आधुनिक प्रविधि अर्थात् भोटिङ मेसिनको प्रयोग हो,’ राई भन्नुहुन्छ । विद्युतीय मतदानलाई बढावा दिनुपर्नेमा आयोग भने त्यो बाट भागिरहेको छ । विद्युतीय मतदान उपकरण प्रयोगले मतदान थप प्रभावकारी बनाउन सकिने उहाँको भनाइ छ।

देशमा शिक्षाको प्रतिशत बढ्दो छ । सूचना–प्रविधिको विकासले फड्को मारेको छ । तापनि मतपत्र बदरको सङ्ख्या घट्न सकेको छैन । निर्वाचन कार्यालयका अनुसार गएका निर्वाचनमा धनकुटामा सरदर १० प्रतिशत बदर हुने गरेको छ । ०७४ को स्थानीय तह निर्वाचनमा धनकुटामा ६९ हजार १६ मत खसेकोमा ६ हजार ५ सय १४ मत बदर भएको निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यस्तै २०७४ मै भएको सङ्घीय निर्वाचनमा ७० हजार २ सय ८० मत खसेकोमा ३ हजार ७ सय १६ मत बदर भएको छ । २०७४ कै प्रदेश निर्वाचनमा प्रदेश निर्वाचन क्षेत्र क मा ३७ हजार २ सय ७२ मत खसेकोमा १ हजार ७ सय ७० र प्रदेश निर्वाचन क्षेत्र ख मा ३५ हजार ९ सय ५ मत खसेकोमा १ हजार ४ सय ५३ मत बदर भएको थियो ।

दलहरूले ०७४ को स्थानीय निर्वाचनमा गठबन्धन गर्दा पनि धेरै मत बदर भएको पाइएको थियो । परम्परागत कागजी मतपत्र, ठूलो आकारको मतपत्र, राजनीतिक दल र उम्मेदवारलाई तालिमको अभाव, निर्वाचन शिक्षाको प्रचार–प्रसारको कमीका कारण मतपत्र बदर हुने गरेको छ ।

झापा प्रतिनिधि नरेश खातीका अनुसार जिल्लामा मतदाता शिक्षा कार्यक्रम आवश्यक भएपनि आयोगले वैशाख २९ र ३० गते मतदान केन्द्रमा ज्येष्ठ नागरिक लक्षित मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेपनि त्यसको प्रभावकारीता विषयमा जानकारहरूले चासो व्यक्त गरेका छन् । जिल्लामा निर्वाचन आयोग र उम्मेदवारहरूले मतदाता शिक्षालाई प्रभावकारी बनाउन आवश्यक रहेको नेपाली कांग्रेस जिल्ला कमिटी सदस्य पम्फा विश्वकर्माको भनाइ छ । उम्मेदवारहरूले मात्र भएपनि मतदाता शिक्षाका विषयमा भोट हाल्ने व्यक्तिमा सही शिक्षा दिएको खण्डमा अमूल्य मतको कदर हुने विश्वकर्माको भनाइ छ । पत्रकार पर्वत पोर्तेलले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा झापामा धेरै मत बदर हुने सम्भावना रहेको बताउनुहुन्छ । धेरै चुनाव चिन्हृ र नयाँ मतदाता बढी भएकाले झापामा वैशाख ३० गतेको निर्वाचनमा धेरै मतहरू बदर हुन सक्ने पत्रकार र्पोतेलको अनुमान छ । जिल्लामा निर्वाचन आयोग, राजनीतिक दल वा उम्मेदवारहरूले मतदाता शिक्षालाई प्राथमिकतामा नराख्दा भोट बदर हुन सक्ने पत्रकार र्पोलेलको विश्लेषण छ । गठबन्धनका उम्मेदवार र स्वतन्त्र उम्मेदवार बढी भएकाले यस पटक झापामा धेरै मत बदर हुन सक्ने मानव अधिकारकर्मी दीपक दासको भनाइ छ । सबै मतदाताहरू शिक्षित नहुने, सही तरीकाले मतदान गर्ने जानकारी नहुने भएका कारण झापामा मत बदर हुन सक्ने अधिकारकर्मी दासको भनाइ छ । चुनाव चिन्हृको रङ्ग, गठबन्धनका धेरै मिल्ने खालका चुनाव चिन्हृ र नयाँ मतदाता कारण धेरै मद बदर हुने सम्भावना रहेको अधिवक्ता कविता शर्माको विश्लेषण छ । झापामा नयाँ मतादाताहरूलाई मतदाता शिक्षा नभएका कारण मत बदर हुने सम्भावन रहेको अधिवक्ता शर्माको भनाइ छ । अखिल नेपाल किसान महासङ्घ सचिवालय सदस्य  ताराप्रसाद उपाध्याय निर्वाचन आयोगलको लापरवाहीले मतदाता शिक्षा प्रभावकारी नबनाउदा अमूल्य मत खेर जाने बताउनु हुन्छ ।

ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार स्थानीय तहको निर्वाचन मुखैमा आएपनि जिल्लामा राजनीतिक दल, तिनका प्रतिनिधि तथा उम्मेदवार वा निर्वाचन आयोगले मतदाता शिक्षालाई प्राथमिकतामा नराख्दा वैशाख ३० गतेको निर्वाचनमा कसरी भोट खसाल्ने भन्ने विषयमा नयाँ मतदाता अलमलमा परेका छन् । निर्वाचन कार्यालय तथा अन्य सम्बन्धित सरोकारवाला निकायहरूले मतदाता शिक्षालाई प्राथमिकतामा नराखेका कारण मतदाताहरू अलमलमा परेका हुन् । निर्वाचन आयोगले यस पटक वैशाख २९ र ३० गते मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । मतदाता शिक्षा छोटो समय सञ्चालन हुँदा जिल्लामा धेरै मतहरू बदर हुने सम्भावना बढेर गएको छ । सिद्धिचरण नगरपालिका–९ ज्यामिरेका विष्णु बहादुर बानियाले आसन्न स्थानीय तहको निर्वाचनमा कसरी मतदान गर्ने भन्ने बारेमा आफूलाई जानकारी नभएको बताउनु भयो । जिल्लामा मतदाता शिक्षा सञ्चालन हुन नसक्दा धेरै मतदाता अन्यौलमा परेका छन् ।  जिल्लामा २०७४ सालको निर्वाचनमा ९१ हजार ५ सय ८ जनाले मतदान गरेकोमा २ हजार ३ सय ६७ मत बदर भएको निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा हाल १ लाख १७ हजार ८५ जना मतदाता रहेका छन् । दलहरूबिच चुनावी गठबन्धन भएको कारण केही मतहरू बदर हुने सम्भावना रहेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी प्रेम न्यौपानेले बताउनु भयो । आयोगले वैशाख २९ र ३० गते मतदान केन्द्रमै मतदान सूचना केन्द्र बनाएर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको हो । बोस्रर, सामाजिक सञ्जाल, अनलाइन मिडिया लगायत माध्यमबाट भने कार्यक्रम जारी रहेको निर्वाचन कार्यालयका निर्वाचन अधिकारी न्यौपानेले बताउनु भयो ।  जिल्लामा सोचेझैं मतदाता शिक्षा दिन नसकिएकोले पनि मत बदर हुने सम्भावना रहेको नेकपा एमालेबाट सिद्धिचरण नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिनु भएकी इच्छाकुमारी गुरुङ्गको भनाइ छ । नेकपा एकीकृत समाजवादी पार्टी ओखलढुङ्गाका उपाध्यक्ष मेखबहादुर खड्काले पनि मतदाता शिक्षाको अभाव कै कारण भोट बदर हुने सम्भावना धेरै रहेको बताउनु भयो । दलहरूले गठबन्धन गरेर एउटै मतपत्रमा धेरै ठाउँमा मतदान गर्नुपर्ने भएको कारण झन् समस्या हुने भन्दै निर्वाचन आयोगले वैशाख २९ र ३० गते भन्दा पनि अलिक अगाडि मतदाता शिक्षा दिनु पर्ने खड्काको माग छ । जिल्लामा मतदाता शिक्षा सञ्चालन नभएकै कारण पनि भोट बदर हुने हुने सम्भावना बढेको महिला अधिकारकर्मी तथा परिर्वतशिल महिला सामुदायिक संस्था अध्यक्ष पेमडोमा शेर्पाले बताउनु भयो । पत्रकार शिवप्रसाद ढुङ्गानाले उम्मेदवारहरू बाहिरी प्रभाव र रवाफ देखाउन केन्द्रित हुनु त्यसमा पनि  मतदाता शिक्षाका लागि सरकारले कार्यक्रम ल्याउनुपर्ने त्यो पनि सञ्चालन नहुँदा मत बदर हुने जोखिम बढेको बताउनु हुन्छ । दलहरू पनि भोट मात्र माग्ने तर कसरी भोट बदर नहुने गरी मतदान गर्ने भनेर सिकाउनेतर्फ परिचालित हुन नसकेको र नागरिक समाजले पनि यसमा ध्यान पुर्याउन आवश्यक रहेको पत्रकार ढुङ्गानाको भनाइ छ । सुनकोशी गाउँपालिका –१० का राजेन्द्र धमलाले मतदाता शिक्षा कार्यक्रम खास गरेर मतदान हुनु भन्दा अगावै सबै वडाहरूको टोलटोल वा घर घरमा पुगी नमूना मतपत्र देखाइ सर्वसाधारणलाई सही ढङ्गले मतदान गर्न सिकाउन आग्रह गर्नु भएको छ ।

उदयपुर प्रतिनिधि सुजता ढुङ्गानाका अनसार निर्वाचन आयोगले मतदाता शिक्षाका लागि ढिलाइ गर्दा जिल्लामा मतदाताहरू अन्यौलमा परेका छन् । राजनीतिक दल तथा तिनका प्रतिनिधि आफ्नो स्वस्तिक छाप लगाएको नमूना मतपत्र लिएर घरघर आउन थालेपछि कसलाई मत हाल्ने भन्ने कुराको अन्यौलमा परेको त्रियुगा नगरपालिका–८ कि मतदाता राममाया दनुवार बताउनु हुन्छ । दनुवार भन्नु हुन्छ “धेरै चिन्हृ, साँघुरो मतपत्र, चुनाव चिन्हृ कण्ठ गर्नु पर्ने झन्झटका कारण अलमलमा परेको छु । विगतका चुनावमा जस्तो हुने मतदाता शिक्षा कार्यक्रम निर्वाचन आयोगले यस पटक सञ्चान नगर्दा यसपटक धेरै मत बदर हुनसक्ने बताउनु हुन्छ, मानव अधिकारकर्मी पाण्डु परियार । वितगमा मतदाता शिक्षा कार्यक्रम हप्ता दिन अघिबाट सञ्चालन गर्दा त मतहरू बदर हुन्थे अहिले त मतदान केन्द्रमा वैशाख २९ र ३० गते गर्ने कुरा सुनेको छु, त्यो प्रभावकारी हुन्छ भन्ने मलाई लाग्दैन । नेकपा माओवादी केन्द्रका जिल्ला नेता किरण राईले मतदाता शिक्षा अभावका कारण गठबन्धन दलका उम्मेदवारहरूको मत बदर हुने जस्तो आफूलाई लागेको बताउनु हुन्छ । जिल्लामा रेडियो, टेलिभिजन र पत्रपत्रिकामार्फत मतदाता शिक्षाका कार्यक्रमहरू सञ्चालन गरिएको भन्दै यस पटक घरघरमा गएर मतदाता शिक्षा दिने कार्यक्रम नरहेको जिल्ला निर्वाचन अधिकारी खेमराज कोइरालाले बताउनु भयो । कोइरालाका अनुसार मत बदर हुन नदिनका लागि निर्वाचन कार्यालयले विभिन्न सञ्चार माध्यमबाट मतदातालाई मत हाल्ने तरिकाका बारेमा जानकारी दिदैँ आएको छ ।

अन्य

भिडियो