स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा सुर्खेतमा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढ्दै गएका छन् । निर्वाचनका क्रममा राजनीतिक दलहरूले आचारसंहितालाई बेवास्ता गर्दै निर्वाचन लक्षित गतिविधि गरिरहेका छन् ।
प्रमुख राजनीतिक दल नेकपा (एमाले), नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगाएतका दलहरूले निर्वाचन आचारसंहित विपरीतका गतिविधि गरिरहेका छन् ।
निर्वाचनको प्रचार प्रसारका क्रममा बाजागाजा सहित र्याली, बालबालिकाको प्रयोग, गाडीमा तोकिएभन्दा ठूला साइजका झण्डा, दोबाटोमा झण्डा टाङ्ने, हर्न स्पिकरको प्रयोग जस्ता तामझामका कार्य गरिरहेका छन् ।
प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर, भेरीगंगा, गुर्भाकोट लगाएतका स्थानीय तहमा एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा लगाएतका दलहरूले विशेषगरी स्कुले बालबालिकालाई झण्डासहित निर्वाचन प्रचार प्रसारमा सहभागि गराएका छन् ।
यसअघि सुर्खेतका राजनीतिक दलहरूले आचारसंहिता उल्लङ्घन हुनेगरी कुनै पनि निर्वाचन लक्षित गतिविधि नगर्ने प्रतिवद्धता जनाएपनि कार्यान्वयनमा उदासिन देखिएका छन् ।
त्यस्तै, विभिन्न विद्यालयका शिक्षक र कर्मचारीहरू सामाजिक सञ्जालमा पार्टीलाई भोट माग्नेदेखि भौतिक रुपमा समेत निर्वाचन प्रचार प्रसार मात्रै नभई घरदैलोमा उम्मेदवारलाई भोट माग्न तल्लिन छन् ।
निर्वाचन आचारसंहिता उल्लङ्घनका विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय, सुर्खेतका मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्र कुमार आचार्यले हालसम्म मौखिक रुपमा तीन ओटा उजुरी परेको बताउँदै तत्काल सम्बोधन गर्ने काम भइरहेको जनाउनु भयो ।

