अधिवक्ता डा. दिनेश त्रिपाठीले सर्वोच्च अदालतबाट हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका माओवादी ‘नेता’ बालकृष्ण ढुङ्गेलविरुद्ध चैत ३० गते सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता गरेका छन् ।
अधिवक्ता त्रिपाठीले दायर मुद्दामा ढुङ्गेलले केही समयअघि एक कार्यक्रममा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको फिला चिर्ने धम्की दिएको भन्दै अदालतको अवहेलना भएकोले तत्काल वारेण्ट जारी गरी गिरफ्तार गर्न माग गरेका छन् ।
पूर्व प्रधानन्यायाधीश श्रेष्ठले ज्यान मारेको अभियोगमा आफूविरुद्ध फैसला सुनाएको भन्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका ढुङ्गेलले त्यस्तो धम्की दिएका हुन् ।
यो मुद्दाको सुनुवाइ चैत ३१ गर्ने गरी अदालतले पेशी तोकेको अधिवक्ता त्रिपाठीले जानकारी दिएका छन् ।
माओवादी नेतासमेत रहेका ढुङ्गेलले ओखलढुङ्गा तारकेराबारीका एकैघरका दाजुभाइ उज्जनकुमार र गणेश श्रेष्ठको हत्या गरेको कसुरमा अदालतले जन्मकैदको फैसला सुनाएको थियो । अदालतको फैसलापछि पनि उनी प्रहरी तथा सरकारी उच्च अधिकारीसँगै उठबस गरिरहेका छन् । उनी संविधानसभाका पूर्व सभासदसमेत हुन् ।