तिलोत्तमा नगरपालिकामा नेपाली काग्रेसले स्थानीय तहको निर्वाचनका लागि मनोनयन गर्ता गर्ने क्रममा निर्वाचन आचार संहिता विपरित पञ्चकन्याकोरुपमा बालिकाहरुको प्रयोग गरेको छ ।
मनोनयन गर्न निस्केको र्यालीमा गुन्यु चोलोमा सजिएका बालिकाहरुले हातमा कलश बाेकेर नारा लगाउदै आएका थिए ।
निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनय दर्ताका लागि दलहलाई आब्हान गरेकोमा अधिकांश राजनीतिक दलहरुले वैशाख १२ गते उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।
उम्मेदवारी मनोनयन गर्नेक्रममा तिलोत्तमा नगरपालिकाका गठ बन्धनका मेयरका उम्मेदवार नेपाली काग्रेशको तर्फबाट रामकृष्ण खाँड लगायतका उम्मेदवारले पञ्चकन्याहरुलाई र्यालीको अगाडी राखेर नारा जुलुस सहित प्रयोग गरेका थिए ।
बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ को उपदफा २ मा कुनै पनि राजनीतिक दलहरूले राजनीतिक प्रयोजनका लागि बालबालिकालाई संगठित गर्ने वा हड्ताल, बन्द, चक्काजाम, धर्ना र जुलुस जस्ता कार्यमा प्रयोग गर्न नहुने भनी उल्लेख गरिएको छ ।
त्यस्तै ऐनमा उल्लेख गरिए विपरीत कुनै पनि राजनीतिक दल, संगठन वा व्यक्तिले त्यस्ता कार्यमा बालबालिकाको प्रयोग गरे त्यसलाई कसुरको रूपमा मानी दफा ७२ मा ७५ हजार रुपैयाँसम्म जरिवाना र तीन वर्षसम्म कैदको व्यवस्था समेत गरेको छ ।
विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा तथा कार्यान्वयन निर्देशिका २०६८ मा पनि बालबालिकालाई राजनीतिक क्रियाकलापमा संलग्न गर्न नहुने भनी उल्लेख गरिएको छ ।
त्यसै गरी निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०७८ को परिच्छेद २ अन्तर्गत दफा ४ को उपदफा ६ मा १८ वर्ष उमेर नपुगेका बालबालिकालाई दलका निर्वाचन गतिविधि, प्रचारप्रसार तथा निर्वाचनसँग सम्बन्धित कुनै पनि गतिविधिमा प्रयोग गर्न नहुने स्पष्ट व्यवस्था गरेको छ ।
यता राजननीतिक दलहरुले कानूनले बन्देज गरेको बालबालिका सम्बन्धी ऐनको उल्लंघन गर्दै निर्वाचनसँग सम्बन्धित गतिविधिमा बालबालिकाको प्रयोगलाई निरन्तरता दिइरहेकै छन् ।
राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख सन्तोष आचार्यले राजनीतिक दलहरुले निर्वाचन आचार संहिताको उल्लंघन गरी बालबालिकाको प्रयोग गर्नु भनेको राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुन तथा मान्यता विपरित भएकोले यस्तो कार्य नगर्नका लागि राजनीतिक दलहरुको ध्यनार्कषण गरेको बताउनु भयो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेशका प्रमुख भोला महतले राजनीतिक दलहरुले विभिन्न समयमा बालबालिकाको प्रयोग नगर्ने सम्बन्धमा गरेका प्रतिवद्धताहरुको उल्लंघन गर्नु दुखद पक्ष भएकोले यस्ता कार्य नदोहोर्याउन सम्बद्ध दलहरुलाई आग्रह गर्दे यस्ता गंभिर विषयमा निर्वाचन आयोगले ध्यान दिनुपर्ने भन्दै ध्यनार्कषण गराउनु भयो ।
महिला बालबालिका जिल्ला सञ्जाल रुपन्देहीका संयोजक समिता मल्लले राजनीतिक दलहरुले बालबालिकाहरुको प्रयोग गर्दैनौ भनेर प्रतिवद्धता गरेको भएपनि आचार संहिताको ठाडो उल्लंघन गरेरको बताउनु भयो ।