गोरखा नगरपालिका–६ का निवासी ६० वर्षीय विश्वदेव श्रेष्ठ आफ्नै कार्यकर्ताबाट कुटिएका छन् ।
नेपाली काङ्ग्रेसको तर्फबाट मेयरमा उम्मेदवारी दर्ता गराउनका लागि गोरखा नगरपालिका–६ स्थित दिपक फोटो स्टुडियोमा फोटो लिदै गरेका उनलाई नेपाली काङ्ग्रेस पार्टीका कार्यकर्ताले कुटपिट गरेका हुन् ।
नेपाली काङ्ग्रेसको गण्डकी प्रदेश समितिले श्रेष्ठलाई गोरखा नगरपालिकाको मेयरमा छनौट गर्ने निर्णय १२ गते गरेको थियो ।
उम्मेदवारी दर्ताको तयारी गर्दा गर्दै आफुमाथि कुटपिट भएको उहाँले बताउनुभयो ।

‘राजन राज पन्तको टिकट किन ल्याइस भन्दै म माथि आक्रमण भयो,’–उहाँले भन्नुभयो ।
उम्मेदवारी छनौटमा असन्तुष्टि जनाउदै नेपाली काङ्ग्रेसका असन्तुष्ट कार्यकर्ताले वैशाख १२ गते नै गोरखा नगरपालिका–६ स्थित नेपाली काग्रेसको पार्टी कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।
पार्टी कार्यलयको ताला भने दिउँसो खुलेको थियो ।
आफूमाथि आक्रमणविरुद्ध कानुनी कारवाहीमा जाने पीडितले बताएपनि वैशाख १२ गते रातिसम्म कानुनी कारवाहीको लागि प्रक्रिया चालेका छैनन् ।
मौखिक रुपमा जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराएको उहाँले बताउनुभयो ।
‘सिसि क्यामेराको आधारमा कुटपिट गर्नेलाई कारवाहीको माग गर्छु,’ उहाँले भन्नुभयो । हुलमुलमा कुटपिट भएकाले कुटपिट गर्नेको पहिचान हालसम्म भएको छैन ।

