INSEC Online

📅 २०८३ जेष्ठ २१

अधिकारकर्मी र प्रहरीको पहलमा घरेलु हिंसा पीडित महिला घरमा पुनर्स्थापित

इन्सेकलगायत अधिकारकर्मीहरूको पहल र प्रहरीको सहयोगमा राजविराज नगरपालिका–६ की २२ वर्षीया ब्युटी झाले वैशाख ६ गते राति घरमा प्रवेश पाउनु भएको छ ।

सप्तरी जिल्ला अदालतको वैशाख ६ गतेको अन्तरिम संरक्षणात्मक आदेश अनुसार घर जानु भएकी ब्युटीलाई उहाँकी सासू शान्ति झा र ससुरा वासुदेव झाले घरभित्र पस्न नदिएपछि अधिकारकर्मीहरू र सञ्चारकर्मीहरूसहित ब्युटी घर अगाडि वैशाख ६ गते तीन घण्टा धर्नामा बस्नु भएको थियो ।

दिनभरी अवस्था तनावग्रस्त भएपछि प्रहरीले अदालतको आदेश अनुसार पीडितलाई घरमा शान्तिपूर्वक बस्न नदिए कानुनी कारवाही गर्ने भनेपछि झा परिवार ब्युटीलाई घरभित्र प्रवेश गराउन सहमत भएको एसपी अविनारायण काफ्लेले बताउनु भयो ।

सामाजिक परम्परा अनुसार भारत बिहारको अररिया–१३ खरैयाकी ब्युटीको ०७७ मङ्सिर २५ गते ३० वर्षीय विपिन झासँग विवाह भएको थियो ।

विवाहको पार्टीकै रातिदेखि घरेलु हिंसामा परेको बताउनु भएकी ब्युटीले घरपरिवारलाई रिझाउन धेरै पटक प्रयास गरेको बताउनु भयो ।

साउथ अफ्रिकामा बस्दै आएका विपिन कान्छी बहिनीको वैशाख ९ गते हुने विवाहका लागि नेपाल आएको जानकारी पाएपछि ब्युटी माइतबाट घर आएकी हुन् ।

पुजारीलाई शुभ दिन देखाएर घर भित्र्याउने पटक–पटकको वाचाबाट विपिनका परिवार पन्छिदै गएपछि ब्युटीले वैशाख ५ गते सप्तरी जिल्ला अदालतमा घरेलु हिंसाको उजुरी दिनु भएको थियो ।

न्यायाधीश प्रमेश पोखरेलको इजलासले वैशाख ६ गते पीडितलाई घरमा बस्न दिनु, खानलाउन दिनु, कुटपिट नगर्नु, शिष्ट र सभ्य व्यवहार गर्नु भन्दै अन्तरिम संरक्षणात्मक आदेश जारी गरेको छ ।

अदालतको आदेश कार्यान्वयन गर्न इन्सेक सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेल, प्रादेशिक कानुनी सहायता समितिकी अधिकृत किरण साह, नेपाल पत्रकार महासङ्घकी केन्द्रीय सदस्य ललिता साह, सप्तरी महिला उपाध्यक्ष अम्बिका दाहाल, महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरीकी अध्यक्ष अनिता देवकोटालगायत पदाधिकारीहरू सक्रिय थिए ।

अन्य

भिडियो