कक्षा कोठा अभाव भएपछि बनगाड कुपिण्डे नगरपालिकास्थित त्रिभुवन जनता माध्यमिक विद्यालय च्युराका विद्यार्थीले खुल्ला चौरमा बसेर वार्षिक परीक्षा दिनु पर्ने बाध्यता रहेको छ ।
विद्यार्थी बस्ने कक्षाकोठा नहुँदा विद्यार्थीले खुल्ला चौरमा बसेर वार्षिक परीक्षा दिनुपर्ने बाध्यता रहेको कक्षा ९ मा अध्ययनरत विनोद केसीले बताउनु भयो ।
विद्यालयमा पर्याप्त कक्षाकोठा नहुँदा कोचाकोच गरेर पढेका विद्यार्थीले अहिले टन्टलापुर घाममा बसेर परीक्षा दिनु पर्ने भएकाले गर्मीका कारण लेख्न समेत समस्या हुने गरेको छात्रा ललिता विष्टले गुनासो गर्नु भयो ।
परीक्षा मात्रै हैन यस विद्यालयमा अध्ययनरत धेरै विद्यार्थीले खुला आकाशमुनि बसेर पढ्नुपर्ने बाध्यता रहेको उहाँले बताउनु भयो ।
उहाँका अनुसार कक्षा ९ मा २ सय १० जना विद्यार्थी छन् । ‘सबैलाइ एउटै कोठामा राखेर पढाइन्छ ठाउँ पुग्दैन । त्यसैले खुल्ला चौरमा बसेर पढ्ने गर्छौँ ।’–उहाँले भन्नु भयो ।
कक्षा कोठा अभाव र विद्यार्थीको सङ्ख्या धेरै भएपछि कक्षाकोठामा अटाउनै मुस्किल हुँदा खुल्ला आकाशमुनि परीक्षा सञ्चालन गरिएको विद्यालयका शिक्षक वसन्त पराजुलीले बताउनु भयो ।
‘विद्यालयमा पुग्दो कक्षाकोठा छैनन् । कोचाकोच गरेर पठनपाठन सञ्चालन गरेका थियौँ । परीक्षामा पनि त्यसरी नै कोचाकोच गरेर सञ्चालन गर्नु भएन भनेर हामीले विद्यार्थीलाई चौरमा राखेर परीक्षा सञ्चालन गरेका हौँ ।’–उहाँले भन्नु भयो ।
कक्षा विभाजन गरेर पढाइ सञ्चालन गर्न शिक्षक दरबन्दी कम भएको र एउटै कोठामा राखेर पठनपाठन गर्न पनि समस्या भएको विद्यालयका प्रधानाध्यापक गुमानसिंह बिष्टको भनाइ छ ।
उहाँले भवन अभावकै कारण कक्षा ११ र १२ का विद्यार्थीलाई विद्यालय भवनको छतमा राखेर पढाउँदै आएको बताउनु भयो ।
प्रावि तहमा अङ्ग्रेजी माध्यमबाट पढाइ सञ्चालन गर्दा सबै कक्षाहरूमा विद्यार्थीको चाप बढेको उहाँको भनाइ छ ।
विद्यालयमा भवन अभावकै कारण प्राविधिक धारतर्फको बालीविज्ञानको लागि प्रयोगशाला सञ्चालन गर्न नसकेको विद्यालयले जनाएको छ ।
कक्षा कोठा अभावले कक्षा सञ्चालनमा चुनौती थपिएको बेला कसरी प्रयोगशालाका सामग्री व्यवस्थापन गरी विद्यार्थीलाई सिकाउने भन्ने कुराले निकै समस्या बनाएको प्रअ विष्टको भनाइ छ ।
यस विद्यालयको समस्याका बारेमा सबै निकाय जानकार भएपनि समस्या समाधानको लागि कसैले पहल नगरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलाराम बुढाको आरोप छ ।
विद्यालयको आर्थिक स्रोत बलियो नहुँदा विद्यालय आफैँले भवन निर्माण गरेर विद्यार्थीको पठनपाठनलाई सहज बनाउन नसकेको उहाँको भनाइ छ ।
