अविरल वर्षाका कारण आएको बाढीका कारण धानबाली नष्ट भएको ६ महिना वितिसक्दा समेत प्रदेश सरकार र स्थानीय तहबाट कुनै प्रकार सहयोग तथा राहत पाउन नसकेको जिल्लाका बाढी प्रभावित कृषकहरुले गुनासो गरेका छन् ।
सुदूरपश्चिम प्रदेशमा गत वर्षको असोज ३१ गतेदेखि कात्तिक ५ गतेसम्म परेको बेमौसमी वर्षा कारण किसानले लगाएको धानबाली भिजेर, बगाएर र कुँहिएर नष्ट भएको थियो ।
पाकेको धान भित्याउने बेलामा आएको बेमौसमी वर्षाका कारण आएको बाढीले खेतमा काटेर सुकाउन राखिएको धान बगाएर लगेको धनगढी उपमहानगरपालिका–१५ कनरीका किसान राजेश चौधरीले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘तीन बिगाहमा लगाएको धान गत वर्ष कात्तिक महिनामा आएको बाढीले बगाएर लग्यो । क्षतिको विवरण उहिलै वडा कार्यालयमा बुझायौँ । तर, ६ महिना वित्दासमेत कहिकतैबाट राहत पाउन सकेनौँ ।’
धनगढी उपमहानगरपालिका–१५ उर्मीका किसान खुशीराम चौधरीले खेतको धान खेतमा उम्रिएको, तीन विगाह १० कट्को धान पूर्ण रुपमा नष्ट भएको दुखेसो पोख्नु भयो ।
उहाँले धानबाली लगाउन साहुबाट लिएको ऋण रकम तिर्न नसकेपछि अब गहुँ बेचर साहुको ऋण तिर्ने तयारीमा रहेको बताउनु भयो ।
उहाँले भन्नु भयो– बाढी प्रभावित भएको समयमा वडा कार्यालय र नगरपालिकाबाट राहत दिने भन्नु भयो । तर, ६ महिना वितिसक्दा समेत राहत पाउन सकिएको छैन् ।
गौरीगंगा नगरपालिका–१ का पुरन विष्टले १५ कठ्ठामा लगाएको धानबाली भित्याउने बेलामा पनीले बगाउँदा भोकभोकै बस्नु पर्ने अवस्थामा नगरपालिकाले कुनै राहत नदिएको दुखेसो पोख्नु भयो ।
उहाँले भन्नुभयो– ‘१० जनाको परिवार १५ कठ्ठामा फलाएको धानले वर्ष भरी खानलाई ठिक्क हुन्थ्यो । तर, खेतका सम्पूर्ण धानबाली बाढीले बगाउँदा साँझ विहानको छाक टार्न मुस्किल भएको छ ।’
गोदावरी नगरपालिका–५ गेटाका भक्त रानाले ३० कठ्ठामा रोपेको धान खेतमै कुहिदा खाद्यान्य सङ्कट उत्पन्न भएर विहान बेलुकीको छाक टार्न समेत समस्या हुने गरेको बताउनु भयो ।
गोदावरी नगरपालिका–५ बिजौराका किसान दिपक नेपालीले १ बिघा १० कठ्ठा अधियामा रोपेको धान भिजेपछि सस्तो मुल्यमा बेचेर महँगोमा चामल किनेर खानु पर्ने बाध्यता रहेको बताउनु भयो ।
कैलारी गाउँपालिका–६ मोहनपुरका विनोद चौधरीले ५ बिगाहमा रोपेको धान मोहना नदीले बगाउँदा भोकमरीको समस्या भएको बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘गाउँपालिकाले हिउँदेबाली गहुँको बिउ मात्र दिएको छ । धानमा भएको क्षति अनुसार कुनै राहत दिएको छैन । भिजेको धान बिक्री गर्न सकिएन । खान योग्य पनि छैन् । त्यसैले भिजेको धान कुटाएर बंगुरलाई दाना बनाउँदै आएकाछौँ ।’
कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले पालिकाबाट पीडित किसानकाहरुको तथ्याङ्क संकलन र सिफारिस गरी पठाइ सकेकाले जिल्ला विपद् व्यवस्थापन समितिले एकद्वार प्रणालीमार्फत राहत उपलब्ध गराउने भएकाले किसानहरुले समयमै राहत पाउन नसकेको बताउनु भयो ।
संघीय सरकारले २०७८ मङ्सिर २ गते किसानको क्षतिको विवरण संकलन गरी १० कठ्ठा मात्र भएका किसानलाई उत्पादक लागतको ६५ प्रतिशत, तीन बिगाहसम्म जग्गा भएका मध्यम किसानलाई उत्पादक लागतको ३० प्रतिशत र तीन बिगाह भन्दा बढी जग्गा भएका ठुला किसानलाई उत्पादक लागतको २० प्रतिशत राहत उपलब्ध गराउने मापदण्ड स्विकृत गरिएको भएपनि पीडित कृषकहरुल्े हालसम्म राहत पाउन सकेका छैनन् ।
कृर्षि ज्ञान केन्द्रका सूचना अधिकारी जनकराज बोहराले साना किसानलाई एक कठ्ठादेखि १० कठ्ठा सम्मलाई प्रति कठ्ठा ३ सय १५ रुपियाँका दरले, मध्यम किसान अर्थात १० कठ्ठादेखि तीन बिगाहसम्म जग्गा भएकालाई १ सय २५ रुपियाँ प्रति कठ्ठाका दरले र ठुला किसान अर्थात तीन बिगाह भन्दामाथि जग्गा भएकालाई ७५ रुपियाँ प्रति कठ्ठाका दरले राहत दिने मापदण्ड बनाइएको भएपनि आंमसिक क्षति भएका सबै किसानलाई २० प्रतिशत तथा ७५ रुपियाँ प्रति कठ्ठाका दरले राहत दिने व्यवस्था गरिएको बताउनु भयो ।
बेमौसमी वर्षाका कारण धानबालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउने मापदण्ड, २०७८ को दफा १२ मा राहत रकम निर्धारण समितिबाट किसानले पाउने राहत रकम स्विकृत भएपछि जिल्ला विपद् व्यवस्थापन समितिको सचिवालयले किसानको नाम, थर, ठेगाना, धानबालीमा पुगेको क्षतिको विवरण, स्विकृत राहत रकम र बैंक खाताको विवरण सहित राहत रकम भुक्तानीका लागि पठाउने व्यवस्था उल्लेख गरिएको छ ।
पीडित किसानका लागि भनेर संघीय सरकारले २१ करोड रुपियाँ जिल्ला प्रशासनको खातामा पठाइ सकेको भएपनि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बस्न नसकेर राहत रकम उपलब्ध गराउन नसकेको जिल्ला प्रशासन कार्यालय, कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताउनु भयो ।
जिल्लामा बेमौसमी वर्षाका कारण जिल्लाका १३ ओटै स्थानीय तहमा ६३ हजार ६ सय १० हेक्टरमा लगाएको धानबालीमा पूर्ण रुपमा क्षति हुँदा ३७ हजार ३ सय ७२ किसान पीडित भएका छन् ।