INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएनन्, स्वास्थ्यकर्मी अभावले स्वास्थ्य सेवा प्रभावित

जिल्लामा कार्यरत स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो गरेका छन् ।

कोभिड–१९ सङ्रक्रमणका वेला काम र जोखिमको अवस्था हेरी सरकारले स्वास्थ्यकर्मीको तलबको २५ प्रतिशतदेखि शत प्रतिशतसम्म जोखिम भत्ता दिने निर्णय गरे पनि सो अनुसारको भत्ता नपाएको गुनासो गरेका हुन् ।

पहिलो चरण देखी कोभिड–१९ सङ्रक्रमणको कहरमा खटिएका स्वास्थ्यकर्मीहरूले पाउनु पर्ने जोखिम भत्ता नपाउँदा निरास भएका छन् ।

सरकारले दिने घोषणा गरेर काममा खटिएका स्वास्थ्यकर्मीहरूले जोखिम भत्ता नपाएको गुनासो छ ।

सरकारले जोखिम भत्ता दिने भने पनि जोखिम भत्ता नपाएको सिन्धुली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट उमेश प्रधानले जानकारी दिनुभयो ।

कोरोनामा काम गरेकाहरूले सरकारले दिने भनेको सुविधा नपाएपछि आफूहरू निरास भएको र निरन्तर जोखिम भत्ता उपलब्ध गराउन माग गरिरहेको प्रधानले बताउनुभयो ।

जिल्लामा जोखिम भत्ता पाउनु पर्ने १ सय ५० जना रहेका छन् ।

जोखिम भत्ता नपाउँदा, कोभिड वार्ड, आइसोलेसन र आईसीयूमा काम गर्ने करारमा रहेका स्वास्थ्यकर्मीको म्याद समाप्त भई स्वास्थ्यकर्मी निस्किएकाले सेवा प्रवाहमा समस्या सिर्जना भएको उहाँको भनाई छ ।

हालसम्म स्टाफनर्स १५ जना, फार्मेसीमा काम गर्ने दुई जना, इमरजेन्सीमा कार्यरत दुई जना, तीन जना कार्यालय सहयोगीले कामकाज नै छाडिसकेका छन् ।

सरकारले दिने भनेको सेवा सुविधा नआउँदा वैशाखबाट सिन्धुली अस्पतालमा कार्यरत थप १२ जना स्टाफ नर्सलाई पनि हटाउनु पर्ने अवस्था आएको मेडिकल सुपरिटेन्डेन्ट प्रधानले जानकारी दिनुभयो ।

उहाँहरू कोभिडको पहिलो लहरबाट काम गर्दै आउनु भएको थियो ।

अस्पतालमा कार्यरत जनशक्ति दिनप्रतिदिन घट्दै जाँदा अस्पतालको सेवा प्रवाहमा समेत समस्या आउने उहाँले बताउनुभयो ।

अस्पतालले प्रवाह गर्ने सेवामा समस्या आउनु त छँदैछ, फेरी पनि कोभिडको सङ्रक्रमण भएमा उपचार गर्ने जनशक्तिको समेत अभाव छ, सङ्रक्रमितहरूको उपचार गर्न पनि मुस्किल हुने उहाँले भन्नुभयो ।

हाल कार्यरत मुख्य रूपमा कोभिड सङ्रक्रमितको उपचार गर्ने स्वास्थ्यकर्मी नै अस्पतालमा नहँदा उपचार असम्भव हुने उहाँको भनाई छ ।

साथै मेडिकल अधिकृतहरू पनि जोखिम भत्ता नपाउँदा यहाँ बस्नु भन्दा सिन्धुली अस्पताल छाडेर अन्यत्र सुगममा जाने योजना बनाई रहँदा अस्पतालले प्रवाह गर्ने सेवामा गम्भीर असर पर्ने भएकाले यस सम्बन्धमा सरोकारवाला निकायले ध्यान दिनुपर्ने भएको छ ।

अस्पतालको समस्याबारे माथिल्ले निकायमा जानकारी गराइसकेको र यस बीचको समयमा कर्मचारी राख्न कुनै पनि बजेटको सुनिश्चितता नभएको उहाँको भनाई रहेको छ ।

करार समय अवधिपछि पनि केही स्वास्थ्यकर्मीहरू भने स्वतःस्फुर्त रूपमा मानव सेवामा लागि रहेको प्रति मेसु प्रधानले धन्यवाद दिनुभयो ।

अन्य

भिडियो