इयु वर्किङ ग्रुप र इन्सेकका प्रतिनिधि सम्मिलित टोलीले चैत ३० गते मानव अधिकारको अवस्था र मानव अधिकार रक्षकहरूका विषयमा मानव अधिकार रक्षकहरूसँग छलफल गरेको छ ।
इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले प्रदेशको मानव अधिकार रक्षकहरूको चुनौतीको वास्तविक अवस्थाका बारेमा जानकारी लिन कार्यक्रमको आयोजना गरिएको बताउदै प्रदेश तथा जिल्ला तहमा मानव अधिकार रक्षकहरू भोगाई र अनुभव आदान प्रदान गर्न आग्रह गर्नु भयो ।
उक्त टोलीले यस अघि सुदुरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुरमा मानव अधिकार रक्षकहरूको अवस्थाका बारेमा जानकारी लिएको कार्यकारी निर्देशक विजयराज गौतमले बताउनु भयो ।

इयु डेलिगेशन मिशनका डेपुटी हेड स्टेफेन माइकोनले मानव अधिकार रक्षकहरूको अधिकारको संरक्षणको क्षेत्रमा के कस्ता कार्यक्रम भएका छन् र मानव अधिकार रक्षकहरूको काम गर्दाको चुनौतीका बारेमा जानकारी लिने उद्देश्यले मानव अधिकार रक्षक, पत्रकार, सरकारी निकायका प्रमुख प्रतिनिधिहरूसँग छलफल गरिदै आएको बताउनु भयो ।
स्टेफेनले मानव अधिकार रक्षकहरूले भोग्दै आएका चुनौतीका विषयमा विभिन्न निकायमा छलफल गरी अगाडि बढ्ने बताउनु भयो ।
इन्सेक नेपालगञ्जका संयोजक भोला महतले मानव अधिकार रक्षकहरूको अवस्था, आफूले काम गर्दा आएका चुनौतिकाबारेमा धारणा राख्न सहभागीहरूलाई आग्रह गर्नु भयो ।
अधिवक्ता प्रहलादबहादुर कार्कीले मानव अधिकार रक्षकहरूले राज्यलाई सहयोग पुर्याउने उद्देश्यले काम गरेपनि राज्यले आफ्नो दायित्व पुरा नगरेकाे बताउनु भयो । राज्यले मानव अधिकार रक्षकहरूको सुरक्षाका लागि कुनै काम नगरेको बताउनु भयो ।
नेपाल बारका उपाध्यक्ष सुनिलकुमार श्रेष्ठले राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लङघनकर्ता भनेर सुचिकृत गरेका व्यक्तिलाई उम्मेदवार नबनाउन राजनीतिक दललाई र त्यस्ता व्यक्तिले उम्मेदवारी दिए भोट नहाल्न नागरिक अपिल गरिएको बताउनु भयो ।
यौनिक तथा लैंगिक अल्पसंख्यक परीना चौधरीले सरकारले यौनिक तथा लैंगिक अल्पसंख्यक नागरिकहरूलाई नागरिकता दिने भनिए पनि हालसम्म कार्यान्वयन नहुँदा आफूहरू पहिचानबाट वञ्चित भएको बताउनु भयो ।
राष्ट्रिय अपाङ्ग महासंघका भावुकजंग थापाले स्थानीय निकायले राजनीतिक प्रभावमा परी अपाङ्गता परिचय पत्र वितरण गरिएको बताउनु भयो ।
यसैगरी, इयु वर्किङ ग्रुप र इन्सेकका प्रतिनिधि सम्मिलित टोलीले नेपालगञ्ज उप–महानगरपालिकाका उपमेयर उमा थापा, जिल्ला प्रशासन कार्यालय सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसी, जिल्ला प्रहरी कार्यालयका एसपी श्यामकृष्ण अधिकारीसँग भेट गरेको छ ।
उपमेयर उमा थापाले शिक्षा, स्वास्थ्य, खाद्य र आवास नागरिकको अधिकारसँग जोडिएकोले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारमा केन्द्रीत भएर काम गरेको बताउनु भयो । लकडाउनको समयमा पनि नागरिकहरूलाई राहत वितरण गरेको बताउँदै स्वास्थ्य अधिकारको बारेमा काम गरेको बताउनु भयो ।

सहायक प्रमुख जिल्ला अधिकारी केसीले जिल्ला प्रशासन कार्यालय बाट पाउने सेवा सुविधामा ध्यान दिएकाे बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका एसपी श्यामकृष्ण अधिकारीले भारतसँग सीमा जोडिएको जमुना नाकाबाट मानव बेच बिखन ओसार पसार हुने समस्या चुनौती भएको बताउनु भयो । अधिकारीले बेचबिखनमा परेका मध्ये ७५ प्रतिशत महिलाहरूलाई भारतबाट उद्वार गरेर नेपाल ल्याएको बताउनु भयो ।
भारत जानकालागि मुख्य बाटोनै नेपालगञ्ज जमुनाहा नाका भएकोले अन्य जिल्लाका महिला बालबालिकाहरू हराएपछि तत्काल बाँके प्रहरीलाई खबर हुने गरेको बताउदै मानव अधिकार रक्षकहरूको सुरक्षाकालागि सधै प्रतिबद्ध रहेको बताउनु भयो ।

