१४ वर्षीया बालिकालाई विष्णुपुर गाउँपालिका–६ स्थित रुद्रनारायण माध्यमिक विद्यालयका सहायक कर्मचारी ३५ वर्षीय शङ्करकुमार यादवले यौन दुर्व्यवहार गरेको भन्दै पीडितका हजुरबुबाले चैत २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
छात्रवृत्तिको फारम भर्न लेखा शाखाको कोठामा गएको बेला पीडित बालिकालाई आरोपितले चैत २१ गते यौन दुर्व्यवहार गरेको पीडित बालिकाले बताइन् ।
रुँदैकराउँदै लेखा शाखाको कोठाबाट निक्लिएर कक्षाकी महिला शिक्षकालाई घटनाबारे जानकारी गराएकी पीडितले अधिकांश शिक्षकहरूले घटना थाहा पाएपछि आफूलाई घरमा कसैलाई नभन्नु भनेर त्रास देखाएर पठाएको बताइन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी अविनारायण काफ्लेले बैठकका लागि भारत र डिएसपी माधवप्रसाद काफ्ले घरविदामा जानु भएकाले उजुरी लिएर चैत २७ गते कार्यालय आउन इन्स्पेक्टर रामनारायण सिंहले फर्काएको पीडितका काकाले बताए ।
यसैबिच विद्यालय व्यवस्थापन समितिको पूर्ण बैठकले आरोपितलाई विद्यालयमा उपस्थित हुन प्रतिबन्ध लगाएको छ ।
सतनारायण यादवको अध्यक्षतामा चैत २३ गते बसेको बैठकले छात्राको निवेदन र वयानका आधारमा पीडितको न्याय निरूपण नभएसम्मका लागि उपस्थित हुन नपाउने गरी निलम्बन गरिएको बैठकमा सहभागी प्रधानाध्यापक तेजनारायण यादवले बताउनु भयो ।