INSEC Online

📅 २०८३ जेष्ठ २१

तोडफोडपछि बन्द भएको शिक्षा विकास माध्यमिक विद्यालयमा १५ दिनपछि पठनपाठन सुरू

१२ वर्षीया बालिकालाई ०७८ चैत ४ गते लेटाङ नगरपालिका–५ खेरूवास्थित शिक्षा विकास माध्यमिक विद्यालयका ५६ वर्षीय शिक्षक मनोज पौडेलले यौन दुर्व्यवहार गरेको विषयमा उत्पन्न विवादका क्रममा चैत ६ गते विद्यालय तोडफोड भएपछि पठनपानठ बन्द भएको विद्यालयमा घटना भएको १५ दिनपछि चैत २० गतेबाट पठनपाठन सुरू भएको छ ।

तोडफोडपछि बन्द भएको विद्यालय सञ्चालन गर्ने विषयमा अभिभावकसँग छलफल गरी चैत २० गतेबाट विद्यालयमा पठनपाठन सुचारू गरिएको प्रधानाध्यापक लक्ष्मीप्रसाद मिश्रले बताउनु भयो ।

एसइइ परीक्षा सुरूआत भएको पहिलो दिन चैत ६ गते विद्यालयमा विवाद भएपछि तोडफोड भएको थियो । एसइइको पहिलो दिन अङ्रेजी विषयको परीक्षा सकिएपछि विद्यालयमा तनाव सुरू भएको थियो ।

एसइइमा विद्यालयबाट सहभागी ७० जना विद्यार्थी परीक्षाबाट वञ्चित भएपछि चैत २० गते अभिभावकसँग सर्वपक्षीय छलफल गरी विद्यालय सञ्चालनमा ल्याएको प्रधानाध्यापक मिश्रले बताउनु भयो ।

लेटाङका नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव कृष्णराज राईले विद्यालयमा तोडफोड हुँदा ११ लाख ६७ हजार ५ सय रुपियाँ बराबरको क्षति भएको बताउनु भयो ।

विद्यालय सञ्चालनका लागि लेटाङ नगरपालिकाले नगद र सामग्री गरेर ३ लाख रुपियाँ बराबरको सहयोग गरेको शिक्षा शाखाले जनाएको छ । कक्षा १ देखि १२ कक्षा सम्म पठनपाठन हुने विद्यालयमा ७ सय ४१ जना विद्यार्थी अध्ययनरत छन् ।

शिक्षकले बालिकालाई यौन दुर्व्यवहार गरेको विषयमा विद्यालय प्रशासनमा चैत ६ गते पीडित बालिकाले निवेदन दिएपछि विद्यालय प्रशासनले आरोपित शिक्षकसँग सोधपुछ गरेपश्चात प्रहरीको जिम्मा लगाउने तयारी गरेपछि स्थानीयले विद्यालय घेरेका थिए ।

चैत ६ गते आरोपित शिक्षकलाई मोसो र जुत्ताको माला लगाउने माग राख्दै स्थानीयले विद्यालयमा तोडफोड गरेका थिए । आरोपित शिक्षकलाई प्रहरीको जिम्मा लगाउने क्रममा स्थानीय र प्रहरीबिच झडप भएको थियो ।

झडपपछि आन्दोलनमा उत्रिएकाहरूले विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद मिश्रसहित शिक्षक र कर्मचारीलाई कुटपिट गरेको थियो ।

तोडफोडपछि बन्द भएको विद्यालयको इन्सेक प्रदेश १, कार्यालय विराटनगरले चैत ९ गते स्थलगत अनुगमन गरी चैत १० गते विज्ञप्ति जारी गर्दै शिक्षाको अधिकार सुनिश्चित गर्न सबै पक्षसँग आग्रह गरेको थियो ।

नेपालको संविधान ०७२ ले धारा ३१ मा शिक्षालाई मौलिक हकका रूपमा व्यवस्था गरेको छ । तोडफोडपछि विद्यालय बन्द हुँदा विद्यालयका अध्ययरत ७ सय बढी बालबालिका शिक्षाको अधिकारबाट वञ्चित भएका थिए ।

Photo 20220403 Morang (1)

Photo 20220403 Morang (2)

अन्य

भिडियो