INSEC Online

📅 २०८३ जेष्ठ २२

म्याद नाघेको ट्याङजुस खाँदा २५ जना विद्यार्थी बिरामी, विद्यालय बन्द 

जुम्लाको पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिका–५ देपालगाउँस्थित हिमाली बोर्डिङ स्कूलका विद्यार्थीले म्याद नाघेको ट्याङजुस खाँदा बिरामी परेका छन् ।

व्यापारीले जथाभावी म्याद नाघेका अखाद्य वस्तु विक्रीवितरण गर्ने गरेका छन् । त्यही म्याद नाघेका अखाद्य वस्तु ट्याङजुस खाँदा विद्यार्थी बिरामी परेका हुन् ।

यहाँका गाउँघरतिर सञ्चालनमा रहेका साना बजारमा म्याद नाघेका अखाद्य वस्तु बढी पाइने गरेका छन् । स्थानीय तहलाई बजार अनुगमन गर्ने र अखाद्य वस्तु नियमन गर्ने अधिकार भएपनि यस्ता विषयमा जनप्रतिनिधिले त्यति चासो दिने गरेको पाइँदैन । जसले गर्दा सहजै रुपमा नागरिकको मुखसम्म अखाद्य वस्तु पुग्ने गरेको छ ।

हिमाली बोर्डिङ स्कूलका प्रिन्सिपल मन्जिल गिरीका अनुसार विद्यार्थीले म्याद नाघेको ट्याङजुस खाएपछि विद्यार्थी बिरामी भएका हुन् ।

उहाँले भन्नु भयो-‘पानीमा पनि केही समस्या हो कि भन्ने आशंका भएपछि पानी परीक्षण पनि गर्न थालिएको छ ।’

२ सय ६० जना विद्यार्थीमध्ये २५ जना विद्यार्थी बिरामी भएका उहाँले बताउनु भयो । विद्यार्थीको पेट दुख्ने, टाउको दुख्ने समस्या देखिएको उहाँको भनाइ छ ।

उहाँले भन्नु भयो-‘बुधबारदेखि आउँदो आइतबारसम्म विद्यालय बन्द गरेका छौँ । स्कूल नजिकैको स्वास्थ्य चौकीमा लिएर औषधि खुवाएपछि अहिले अवस्था सामान्य भएको छ । यस विषयमा अभिभावकसँग पनि छलफल गर्ने तयारी गरेका छौँ । पानी परीक्षण गरेपछि मात्रै विद्यालय खोल्ने तयारी गरेका छौँ ।’

म्याद नाघेको ट्याङजुस खाएपछि विद्यार्थी बिरामी परेको गुठीचौर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अहेव बालराम नेपालीले बताउनु भयो ।

उहाँले भन्नु भयो-‘औषधि खुवाएपछि अवस्था सामान्य भएको छ । पानी, घामले पनि यस्तो समस्या देखिएको हुन सक्छ । अहिले स्वास्थ्य चौकीमा पेट दुख्ने र टाउको दुख्ने बिरामी बढी आउने गरेका छन् ।’

अन्य

भिडियो