इटहरी उपमहानगरपालिका–२ स्थित नवजागृति टोलमा अवस्थित एक घरमा चैत १४ गते राति सुतली बम विष्फोट हुँदा इटहरी उपमहानगरपालिका–२ का २२ वर्षीय रविन थापा र लमजुङ स्थायी घर भई इटहरी उपमहानगरपालिका–२ मा बस्दै आएका २३ वर्षीय शेरजङ्ग गुरुङ घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका एसपी सञ्जयसिंह थापाले बम विष्फोटमा परी घाइते भएका रविन थापाको विराटनगरस्थित आँखा अस्पतालमा र गुरुङको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भईरहेको इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भएको छ ।
प्रहरीका अनुसार बम विष्फोटमा परी थापाको आँखामा चोट लागेको छ भने गुरुङको हात र तिघ्रामा चोट लागेको छ ।
इटहरी उपमहानगरपालिका–२ का अमित श्रेष्ठको घरमा सुतली बम विष्फोट भएको र सोही घरमा डेरा गरी बस्ने थापा र गुरुङ घाइते भएको प्रहरीको भनाइ छ ।
बम विष्फोट भएपछि घटनास्थलमा प्रहरीले हिमाल सुरक्षा परिषद्को पर्चा फेला परेको प्रहरीले जनाएको छ ।
हिमाल सुरक्षा परिषद्को पर्चामा सङ्घीयता खारेज, पाँच विकास क्षेत्र कायम गरिनुपर्ने, हिन्दु राष्ट्र कायम गरिनुपर्ने जस्ता माग उल्लिखित भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा हिमाल सुरक्षा परिषद्को पर्चा भेटिएपछि सङ्गठित अपराध भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
