१२ वर्षीया बालिकालाई छिन्नमस्ता गाउँपालिका–२ कुपही रम्पुराका १८ वर्षीय इन्दल खंगले यौन दुर्व्यवहार गरेको मुद्दा सप्तरी जिल्ला अदालतले चैत १४ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।
जिल्ला अदालतमा ०७६ भदौ २९ गते दायर भएको सो मुद्दा न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासबाट मुल्तबीमा राख्ने फैसला भएको हो ।
पीडित बालिकालाई आरोपितले ०७५ असोज १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालयमा असोज २ गते उजुरी दिएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७५ असोज ३ गते गरिएको थियो ।
विश्वकर्मा पूजाको अवसरमा भएको सांस्कृतिक कार्यक्रम हेर्न टोलका महिलाहरूसँग गएकी पीडित पिसाब फेर्न गएको मौका छोपी आरोपितले यौन दुर्व्यवहार गरेको पीडितले आरोप लगाएकी थिइन् ।
गुहारको लागि चिच्याए पनि सांस्कृतिक कार्यक्रमको माइकको साउण्डले कसैले नसुनेको पीडितले बताएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालयले ०७५ असोज ४ गते उजुरी दर्ता गरेको थियो । आरोपित फरार रहेकाले हालसम्म गिरफ्तार गर्न नसकिएको प्रहरीले जनाएको छ ।