INSEC Online

📅 २०८३ जेष्ठ २१

माडीको कुसुमखोला क्षेत्रमा पुनः बसोबास गर्न बनाइएका गोठ तथा टहराहरूमा निकुञ्ज प्रशासनद्वारा आगजनी

माडी नगरपालिका–९ स्थित कुसुमखोला क्षेत्रमा हालै बनेका गोठ तथा टहराहरूमा ०७८ चैत १३ गते दिउँसो चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले आगजनी गरेको छ ।

मकवानपुर र चितवनका पहाडी क्षेत्रबाट बसाईं सरी माडी नगरपालिका–९ कुसुमखोलामा आएका चेपाङ समुदायलाई माडी नगरपालिकाकै विभिन्न स्थानमा पुनर्स्थापना गर्दै सो क्षेत्रबाट हटाइए पनि पुन बसोबास गर्ने प्रयोजनका लागि निर्माण गरेको करीब १३ ओटा गोठ तथा टहराहरूमा निकुन्ज प्रशासनले आगजनी गरेको हो ।

०४८ सालदेखि बसेका काजिराम प्रजालगायतको गोठ तथा टहरामा १३ गते दिउँसो सेना सहित पुगेको निकुञ्जको प्रशासनले आगो लगाएको छ ।

काजिरामको घरमा भने अर्को व्यवस्था नहुँदासम्म सो घर नभत्काउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेकाले सुरक्षित छोडेको निकुञ्ज प्रशासनले जनाएको छ ।

निकुञ्जको माडी बगही सेक्टर प्रमुख, सहायक संरक्षण अधिकृत प्रमोद यादवले नयाँ बनेका गोठहरू हटाइएको तर आगजनी भने नगरेको इन्सेक प्रतिनिधिलाई बताउनु भएको छ ।

सो घटना लगत्तै स्थलगत अनुगमन गरिएको माडी नगरपालिका प्रमुख ठाकुर ढकालले जानकारी दिनु भयो ।

निकुन्ज क्षेत्र अतिक्रमण गरेर बसेको भन्दै निकुञ्ज प्रशासनले उनीहरूलाई हटाउने प्रयास गर्दै आएको छ ।

०७७ साउन ३ गते पनि सो ठाउँमा दुई ओटा घरमा आगजनी गर्नुका साथै आठ ओटा गोठमा निकुञ्ज प्रशासनले आगजनी गरेको थियो ।

सो घटनाको इन्सेक, एड्भोकेसी लगायतका मानव अधिकारवादी संस्थाले स्थलगत अनुगमन गरी स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै निकुञ्ज सुरक्षाकर्मीले ज्यादती गरेको हुँदा पीडित परिवारलाई राहात तथा पुनर्स्थापनाका लागि पहल गर्न सम्बन्धित निकायहरूलाई ध्यानाकर्षण गराएको थियो ।

अन्य

भिडियो