१३ र १४ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको कसुरमा जिल्ला अदातल, कैलालीले जानकी गाउँपालिका–५ का २१ वर्षीय महेश चौधरी, १९ वर्षीय नरेश चौधरी, २२ वर्षीय मनोज चौधरी र २० वर्षीय रामबहादुर चौधरीलाई १४ वर्ष ६ महिना कैद, १८ वर्षीय रमेश शाहीलाई १३ वर्ष, १७ वर्षीय कृष्ण नगरकोटीलाई नौ वर्ष आठ महिना र १७ वर्षीय सत्यम रावललाई आठ वर्ष आठ महिना कैद सजायको फैसला गरेको छ ।
चैत १० गते जिल्ला अदालतका न्यायधीश जयानन्द पनेरुको इजलासले उमेर पुगेका कसुरदारहरुलाई १४ वर्ष ६ महिना कैद र नाबालकको हकमा उमेर अनुसार सजाय निर्धारण गरी फैसला गरेको जिल्ला अदालतका श्रेष्तेदार राइभान कुञ्जेडाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितहरुलाई ०७७ कात्तिक ८ गते सामुहिक बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय, टिकापुरमा कात्तिक ९ गते उजुरी दिएका थिए ।
प्रहरीले आरोपित विरुद्ध सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालतमा जवरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतको थुनछेक वहसपछि आरोपितहरु मध्ये ०७७ मङ्सिर १३ गते ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने दुई जनालाई बाल सुधारगृह, डोटी पठाएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक ९ गते टिकापुर अस्पतालमा गरिएको थियो ।