विद्यालयको हाताभित्र होली खेलेको अरोपमा पाचँ जना विद्यार्थीलाई कुटपिट गरी यातना दिएको आरोपमा बलेफी गाउपालिका–१ घर भई श्री आनन्द मावि जलवीरेमा कार्यरत शिक्षक ३६ वर्षीय दीपककुमार तामाङलाई प्रहरीले ०७८ चैत ४ गते गिरफ्तार गरेको छ ।
विद्यालयको हाताभित्र होली खेलेको अरोपमा आरोपित शिक्षक तामाङले ०७८ चैत २ गते विद्यालयको प्राङ्गणमा लाइन राखेर पोलिथिनको पाइपले पाँच जना विद्यार्थीलाई शरीरको बिभिन्न भागमा कुटपिट गरेको पीडितपक्षको आरोप छ ।
शिक्षकको कुटपिटबाट घाइते हुनेहरूमा बलेफी गाउँपालिका–१ का १६ वर्षीया सुप्रिना भुजेल, सोही ठाउँका १५ वर्षीय दिलिप श्रेष्ठ, १६ वर्षीय मनोज अधिकारी, १५ वर्षीय राजकुमार श्रेष्ठ र चौतारा साँगाचोमगढी नगरपालिका–४ की १५ वर्षीया दिपिका शाक्य रहेका छन् ।
कुटपिटबाट शरीरका विभिन्न भागमा निलडाम देखिएको र घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र जलवीरेमा उपचार भएको इलाका प्रहरी कार्यालय जलवीरेका इन्स्पेक्टर हरि भट्टराइले बताउनु भयो ।
पीडित बालबालिकाका अभिभावकले आरोपित शिक्षक विरुद्ध ०७८ चैत ३ गते इलाका प्रहरी कार्यालय जलवीरेमा उजुरी दिएको र सो उजुरी सहित आरोपित शिक्षकलाई जिल्ला प्रहरी कार्यालय पठाइएको इन्स्पेक्टर भट्टराइले बताउनुु भयो ।