जिल्ला सुरक्षा समितिको टोलीले हुम्लाका सात ओटै स्थानीय तहमा पुगेर पायक पर्ने मतदानस्थल र संवेदनशीलताबारे अध्ययन गर्ने क्रममा हुम्लाका नौ ओटा मतदानस्थल अति संवेदनशील रहेको ठहर गरेको छ ।
सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै आवश्यक तयारीका लागि जिल्लामा रहेका सरोकारवाला निकाय सक्रिय बन्न थालेका छन् ।
आगामी निर्वाचनका लागि तोकिएका ५२ ओटा मतदानस्थल मध्ये नौ ओटा अति संवेदनशील देखिएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिनु भयो ।
उहाँका अनुसार ३० ओटा मतदानस्थल संवेदनशील र १३ ओटा मतदानस्थल सामान्य रहेका छन् ।
निर्वाचनका लागि मतदानस्थल र केन्द्र उपयुक्त स्थानमा छन् या छैनन् र सुरक्षाका हिसावले कति जोखिम छन्, छैनन् भन्ने अध्ययन थालिएको प्रजिअ परियारले बताउनु भयो ।
संवेदनशील भएका मतदानस्थलहरूमा कस्तो सुरक्षा व्यवस्थापन मिलाउने भन्नेबारे सुरक्षा निकायसहित स्थानीय तहहरूसँग समन्वय भइरहेको उहाँको भनाइ छ ।
सुरक्षा समितिले वर्गीकरण गरेका मतदानस्थलको नाम भने सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सार्वजनिक गरिएको छैन ।
जिल्ला निर्वाचन अधिकृत श्यामबहादुर रानाका अनुसार ५२ ओटा मतदान केन्द्रमध्ये मतदाता संख्याको आधारमा पाँच ओटा मतदानस्थल थप गर्नका लागि पहल गरिएको छ ।
मतदानस्थल थपिएको खण्डमा खार्पुनाथ गाउँपालिका–६ को मान्धारा माध्यमिक विद्यालय भकुण्डा, सोही गाउँपालिका–१ को मालिका माबि लाली, सिमकोट गाउँपालिका–७ को टुलिङ, ताँजाकोट गाउँपालिका–३ को कैलाश आधारभूत विद्यालय थापा गाउँ र सर्केगाड गाउँपालिका–७ को सिर्जनशील आधारभूत विद्यालय माझगाउँ पर्ने भएका छन् । हुुम्लामा हाल ५२ ओटा मतदान केन्द्र रहेका छन् ।