बिर्तामोड नगरपालिका–५ की ३९ वर्षीया खेमजुङ गुरुङलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ४० बर्षीय पति कमल राउतलाई चैत ४ गते गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सन्तोष आचार्यले जानकारी दिनु भयो ।
आरोपितले चैत २ गते राति मादक पदार्थ सेवन गरी खेमजुङ गुरुङलाई कुटपिट गरेको पीडित पक्षको आरोप छ ।
कुटपिटका कारण घाइते खेमजुङको उपचार बिर्तामोडस्थित कन्काई अस्पतालमा गरी थप उपचारका लागि विराटनगरस्थित नोवेल अस्पताल लगिएकोमा उक्त अस्पतालमा उपचार हुन नसकेपछि आफन्तले बिर्तामोड नपा-५ स्थित माइती घर ल्याएकोमा चैत ३ गते राति मृत्यु भएको थियो ।
राउतलाई गिरफ्तार गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका डिएसपी आचार्यले बताउनु भयो ।
शवको पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुरमा लाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।