सामूहिक बलात्कारपछि हत्या गरिएकी सुन्दरहरैँचा नगरपालिका–७ की डेढ वर्षीया बालिका करिश्माकुमारी केवटको परिवारलाई चैत १ गते भेट गरी इन्सेक प्रदेश १, कार्यालय विराटनगरले घटनाका विषयमा अनुगमन गरी जानकारी लिएको छ ।
०७८ फागुन २७ गते अपहरण गरी सामूहिक बलात्कार पश्चात हत्या गरिएकी बालिकाको परिवारलाई भेटेर घटनाका विषयमा जानकारी लिएको इन्सेक प्रदेश १, कार्यालय विराटनगरका प्रलेख अधिकृत पुण्य अधिकारीले बताउनु भयो । घटनाको विषयमा जानकारी लिएपछि आर्थिक अवस्था कमजोर रहेको पीडित परिवारलाई १० हजार रुपियाँ सहयोग गरिएको छ ।
इन्सेकसहित राष्ट्रिय मानव अधिकार आयोग, सिविन, माइती नेपाल, ओरेक, एबीसी र आफन्त नेपाललगायतका सामाजिक संस्थाले घटनाका विषयमा प्रहरीले गरिरहेको अनुसन्धान प्रक्रिया र पीडित पक्षले गरिरहेको आन्दोलनका विषयमा जानकारी लिएको छ ।
अधिकारकर्मीसँगको भेटमा बालिकाका ३६ वर्षीय बाबुले घटनाका आरोपित यसअघि पनि जेल बसेर छुटेकाले पुन छुट्ने हो की ? भन्ने डरले गर्दा आन्दोलन गर्नु परेको बताउनु भयो ।
पीडित परिवारले दोषीलाई कारबाही गर्न पहल गरीदिन अधिकारकर्मीसँग आग्रह गरेको छ । पीडित परिवारसँगको भेटमा अधिकारकर्मीले घटनाका विषयमा मिलापत्रका लागि कोही कसैले दबाब दिएको वा प्रभाव पारेको नपारेको विषयमा जानकारी लिएको छ । अधिकारकर्मीले टोलीले पीडित परिवारलाई आर्थिकसहित खाद्यान्न समेत सहयोग गरेको छ ।
पीडित परिवारसँगको भेटपछि अधिकारकर्मीहरूले घटनाका विषयमा प्रहरीले गरिरहेको अनुसन्धानका विषयमा जानकारी लिएका छन् ।
जिल्ला प्रहरी कार्यालयका एसपी जनार्दन जिसीले आरोपितद्वयलाई गिरफ्तार गरी अनुसन्धान अघि बढाएको बताउनु भयो ।
आरोपितद्वयलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको भएपनि इलाका प्रहरी कार्यालय वेलवारीमा सुरक्षा चुनौतीका कारण सार्वजनिक गर्न नसकिएको प्रहरीले जनाएको छ ।
तर स्थानीयले भने प्रहरी चौकी बेलबारीमा नै सार्वजनिक गर्न माग गर्दै आन्दोलन गर्नु परेको सुन्दरहरैँचा नगरपालिका–७ का ३२ वर्षीय खोमराज अधिकारी इन्सेकर्मीसँगको भेटमा बताउनु भयो ।
घटनाका आरोपितलाई फाँसी दिन माग गर्दै फागुन ३० गते स्थानीयले बेलवारी क्षेत्रमा सडक अवरूद्ध पार्ने क्रममा भएको झडपमा तीन जना घाइते भएका छन् ।
प्रहरीको लाठी प्रहारबाट सुन्दरहरैँचा नगरपालिका–७ का ३२ वर्षीय खोमराज अधिकारी, सोही ठाउँका ३७ वर्षीय रमेश राई र सुन्दरहरैँचा नगरपालिका–३ का ३३ वर्षीय चन्द्र पौडेल घाइते भएको रमेश राईले बताउनु भयो ।
बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका–७ का २५ वर्षीय अजय चौधरी र सोही ठाउँका २८ वर्षीय मिथुन चौधरीलाई फागुन २८ गते गिरफ्तार गरी फागुन २९ गते सार्वजनिक गरिसकेको छ ।
घटनाका आरोपित अजय चौधरी र मिथुन चौधरीले फागुन २७ गते बालिकालाई घरमा खेलिरहेको अवस्थामा अपहरण गरी सुन्दरहरैँचा नगरपालिका–७ स्थित गछिया खोलामा लगेर बलात्कारपछि वियरको बोतल र ढुङ्गाले हिर्काएर अर्धचेत बनाएको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मञ्जिल मुकारुङले बताउनु भएको छ ।
घरबाट हराएकी बालिका फागुन २७ गते साँझ खोला किनारमा अर्धचेत अवस्थामा फेला परेपछि उपचारका लागि सोही दिन विराटनगरस्थित नोवेल अस्पतालमा भर्ना गरिएको थियो । बालिकाको उपचारका क्रममा फागुन २८ गते बिहान मृत्यु भएको थियो ।
शवको पोष्टमार्टम फागुन २७ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा गरिएको छ ।
पीडित पक्षले फागुन २७ गते शव बुझी सोही दिन सुन्दरहरैँचा नगरपालिका–७ स्थित घाटमा सद्गत गरेको छ ।



