INSEC Online

📅 २०८३ जेष्ठ २१

क्षमता भन्दा चार गुणा बढी कैदीबन्दी, व्यवस्थापनमा समस्या

महोत्तरी कारागारमा रहेका कैदीबन्दीको सङ्ख्या अहिलेसम्मकै सर्वाधिक भएको छ । क्षमताभन्दा झण्डै चार गुणा बढी सङ्ख्याका कैदीबन्दीहरू कारागारमा बस्नु पर्दा सुत्न, बस्न र खाना पकाउन समस्या भएको छ ।

पछिल्लो पाँच वर्षयता ३ सय ५० को हाराहारीमा रहँदै आएको कैदीबन्दीको सङ्ख्या अहिले ५ सय पुगेको छ ।

कारागारको १ सय ६३ वर्षको इतिहासमा कैदीबन्दीको यो सङ्ख्या अहिलेसम्मकै सर्वाधिक भएको कारागार प्रशासनले जनाएको छ ।

जम्मा १ सय ३५ जना कैदीबन्दी राख्ने क्षमताको कारागारमा अहिले पुरुष कक्षमा ४ सय ५१ र महिला कक्षमा चार आश्रित बालबालिकासहित ४९ कैदीबन्दी छन् ।

यसअघि २०३५/३६, २०४६/४७ र २०६२/६३ सालको ऐतिहासिक आन्दोलनमा व्यापक राजबन्दी राखिएको बाहिरी चर्चा सुनिए पनि त्यसताका ३ सय कैदीबन्दीको सङ्ख्या नबढेको कारागार अभिलेखले देखाएको छ ।

तर, अहिले कुनै राजनीतिक वा सामाजिक उथलपुथल नभएको सामान्य अवस्थामै कैदीबन्दीको सङ्ख्या ५ सय पुगेको हो ।

क्षमताभन्दा झण्डै चार गुणा बढी सङ्ख्यामा कैदीबन्दी राख्नु पर्दा सुत्न, बस्न, खाना पकाउन र सामान्य व्यायाम गर्न ठाउँकै समस्या पर्ने गरेकोे कारागार प्रमुख (जेलर) गणेशचन्द्र मिश्रले बताउनु भयो ।

उहाँको प्रश्न थियो–‘अब भन्नुस्, १ सय ३५ जना राख्ने ठाउँमा ५ सय जना राख्नु परेपछि के हालत होला । ?’

‘सधैँ कोलाहल नै हुन्छ ।’–कारागार प्रमुख मिश्रले भन्नु भयो–‘विगतमा महोत्तरी र धनुषा जिल्लाको संयुक्त कारागार भए पनि पछिल्लो समयमा सर्लाही जिल्लाका न्यायिक कार्यालयले पनि कैदीबन्दी यहीँ पठाउँदा सङ्ख्या निकै बढेको हो ।’ कारागारमा सबैभन्दा बढी कैदीबन्दी धनुषा जिल्लाका छन् ।

कारागारमा थुनुवाको सङ्ख्या ६५ प्रतिशतभन्दा माथि छ । समयमै मुद्दा छिनोफानो हुन नसक्दा थुनुवाको सङ्ख्या बढेको कारागार प्रशासनको ठम्याइ छ ।

दिनहुँ कारागारमा थपिने थुनुवा नै हुने गरेका छन् । कैदी त कारागारमै छँदा मुद्दा फैसला भएका वा देवानी (लेनदेनसहित) मुद्दाका केहीमात्र आउने गरेका कारागार प्रमुख मिश्रले बताउनु भयो ।

‘फौजदारी मुद्दाका कैदी धेरैजसो पहिलेदेखि नै पुर्पक्ष थुनामै रहेका हुन्छन् । फैसला भएपछि कैदी बन्ने हुन् ।’–कारागार प्रमुख मिश्रले भन्नु भयो–‘अन्य कारागारबाट सरुवा भई आउने र देवानी मुद्दाका मात्र केही कैदी बाहिरबाट आउँछन् ।’

न्यायिक निकायमा मुद्दा चाँडै किनारा लाग्नसके थुनुवाको सङ्ख्या घट्ने उहाँको बुझाइ छ ।

कारागारमा कैदीबन्दीको चापले बस्न, सुत्नसँगै खानपिन र दैनिक नित्यकर्म ठिक समयमा हुन नसक्दा बिरामी हुने क्रम बढेको छ ।

जीउभर खटिरा आउने, जीउ चिलाउने र लुतो आउने कारागारका कैदीबन्दीको साझा रोग नै बनेको पुरुष कक्षका एक कैदीले बताए ।

‘न राम्ररी सुत्ने ठाउँ छ हजुर, न ठिक समयमा दिस पिसाव र नुवाइधुवाइ गर्न पाइन्छ ।’–ती कैदीले बिरक्तिँदै भने–‘नापेको चार हातमा गुडुल्किएर रात काट्नुपर्छ, रातभरि कोलाहल हुन्छ । कतिखेर निदाउनु ?’ ।

छालाको समस्याबाहेक श्वासप्रश्वास र खोकी पनि कारागारभित्रको आम स्वास्थ्य समस्या रहेको कारागारका स्वास्थ्यकर्मीे बताउँछन् । केही दिन पहिले मात्र भाइरल ज्वरोले १ सयभन्दा बढी कैदीबन्दी बिरामी भएका थिए ।

कारागारमा ठाउँको अभावसँगै सीमित शौचालय र धारामात्र हुँँदा दिसापिसाप गर्न, नुहाउन र लुगा धुन घण्टौँ पालो कुर्नुपर्ने एवम् सुत्न बस्न नै ठाउँ नपाइँदा आफूहरूलाई निकै गाह्रो भइरहेको कैदीबन्दीको गुनासो छ ।

कारागारमा कैदीबन्दीका लागि जाडो र गर्मी मौसममा गरी दुई पटक मौसम अनुसारको लुगा दिइने कानूनी व्यवस्था भए पनि यहाँ कहिल्यै ठिक समयमा यो सुविधा नपाइएको कैदीबन्दीको गुनासो छ ।

कारागार प्रमुख मिश्रले पनि कैदीबन्दीको यो गुनासो स्वीकार गर्नुभएको छ । ‘कारागारमा दिनहुँ कैदीबन्दीचाहिँ आइरहन्छन् ।’–प्रमुख मिश्रले भन्नु भयो–‘तर, कैदीबन्दी थपिएको अनुपातमा मौसमअनुसारका लुगा र उपचार खर्च भने ठिक समयमा कहिल्यै आउँदैन । कैदीबन्दीको कोपभाजनमा कारागार प्रशासन पर्छ ।’

कारागारको महिला कक्षमा एउटा धारो र एउटा शौचालय छ । यस कक्षका ४९ जनाले पालो मिलाएर दिसा–पिसाव र नुहाइधुवाइ गर्नुपर्छ ।

त्यसैगरी पुरुष कक्षमा आठ ओटा शौचालय र आठै ओटा धारा भए पनि सबै सधैँ प्रयोगमा हुँदैनन् ।

कारागारको यो अवस्था अन्त्य गर्न क्षमताभन्दा बढीका कैदीबन्दी अन्यत्र लान र कारागारमा भौतिक व्यवस्थापन जुटाउन स्थानीय प्रशासन र कारागार व्यवस्था विभागमा धेरैपटक आग्रह गरिएको कारागार प्रशासनले जनाएको छ ।

सदरमुकाम जलेश्वरको गहिरो ठाउँमा रहेको कारागारमा सामान्य वर्षामै कैदीबन्दीको बिचल्ली हुने गरेको छ ।

केहि दिन पहिले भएको वर्षातमा १५ दिनसम्म उभिएरै दिन काट्नु परेको कैदीबन्दी सम्झन्छन् ।

कारागारमा नगरभरिको सोहोरिएर आएको हिलो दुर्गन्धित फोहर १५ दिनसम्म नसुक्दा सातु, चाउचाउ र भुजाजस्ता तयारी खानेकुरा नै खाएर बिताइएको कैदीबन्दीको भनाइ छ ।

प्रत्येक वर्ष बर्खायाममा यस्तो बिजोग काट्नु परेपनि कारागार परिसरमा थुप्रिने नगरको फोहर निकासको स्थायी समुचित व्यवस्था भने भएको छैन ।

अन्य

भिडियो