INSEC Online

📅 २०८३ जेष्ठ २२

स्वास्थ्य संस्थामा औषधि नपाउँदा बिरामीहरू मर्कामा, स्वास्थ्य बीमा कार्यक्रम प्रभावहिन

महोत्तरीको जिल्ला अस्पताल र जिल्लास्थित स्वास्थ्य संस्थाहरूमा औषधि नपाउँदा बिरामीहरू मर्कामा परेका छन् ।

नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा ३५ को उपधारा १ मा प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने अधिकारको सुनिश्चितता गरिएको भएपनि जिल्ला अस्पताल र जिल्लास्थित ग्रामीण क्षेत्रमा रहेका अधिकाँश स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव हुँदा बिरामीहरू मर्कामा परेका हुन् ।

जिल्ला अस्पताल, जलेश्वरमा विगतदेखि नै नेपाल सरकारले निःशुल्क दिने भनेका औषधिको अभाव रहेको अस्पतालका प्रमुख डाक्टर सतीश साहले बताउनु भयो ।

नेपाल सरकारको नियमानुसार जिल्ला अस्पतालबाट ७० प्रकारका औषधिहरू निःशुल्क रूपमा उपलब्ध गराउनु पर्ने व्यवस्था भएपनि २०÷२५ प्रकारका औषधि मात्रै जिल्ला अस्पतालमा रहेको डाक्टर साहले बताउनु भयो । उहाँले भन्नु भयो–‘यी २०÷२५ प्रकारका औषधिहरू पनि नियमित आउँदैनन् ।’

जिल्ला अस्पतालमा मात्रै होइन अन्य स्थानीय तहका स्वास्थ्य संस्थामा पनि नेपाल सरकारले निःशुल्क दिने भनेका औषधिको अभाव छ ।

स्थानीयले सामान्य बिरामी पर्दा समेत निजी मेडिकलको भर पर्नु पर्ने बाध्यता रहेको जलेश्वर अस्पतालमा उपचारका लागि आउनु भएकी लक्ष्मीदेवी चौधरीले बताउनु भयो ।

उहाँले भन्नु भयो–‘जिल्ला अस्पतालमा जाँच गराउन मात्रै जाने हो । औषधिका लागि त निजी मेडिकल कै भर पर्नु पर्छ ।’

नेपाल सरकारले निःशुल्क औषधिको वर्गिकरण गरेपनि कहिल्यै पनि ति सबै औषधिहरू स्वास्थ्य संस्थामा पुग्न नसकेको भङ्गहा नगरपालिकाका स्वास्थ्यकर्मी राकेश गिरीले बताउनु भयो ।

नेपाल सरकारले विपन्न नागरिकको उपचारमा सहजताका लागि ल्याएको बीमा कार्यक्रम अन्तर्गत बिमित सदस्यहरूले समेत औषधि नपाएको गुनासो गरेका छन् ।

बीमा गरेपछि प्रति परिवार १ लाख रुपियाँसम्मको औषधि र उपचार निःशुल्क पाउनु पर्ने भएपनि सो सेवाबाट आपूmहरू वञ्चित भएको बर्दिवास नगरपालिका–१२ खैरमाराकी सरीता अधिकारीले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो–‘स्वास्थ्य बीमा गराएँ । एक घण्टा भन्दा बढी हिँडेर तीन दिनसम्म बर्दिवास अस्पतालमा औषधि माग्न गएँ । एक दिन पनि औषधि दिएनन् । २ हजार ५ सय रुपियाँको औषधि मेडिकलबाट नै किनेको भए बरू हुन्थ्यो । बीमा गराएकोमा पछुतो लागेको छ । बिरामी भएको बेला औषधि दिएनन् भने अब कहिले दिन्छन् ?’

स्वास्थ्य संस्थाहरूमा औषधिको व्यवस्था नहुँदा स्वास्थ्य बीमा कार्यक्रम समेत सोचे अनुसार प्रभावकारी हुन नसकेको स्वास्थ्य बीमा बोर्ड, महोत्तरीका प्रमुख पप्पुकुमार यादवले बताउनु भयो ।

उहाँले बीमा गरेका व्यक्तिको उपचारमा लाग्ने रकम र औषधिका लागि आवश्यक रकम समयमै अस्पताल तथा स्वास्थ्य संस्थालाई उपलब्ध गराउने गरिएकोले यसको जिम्मेवारी पनि तिनै संस्थाले लिनु पर्ने बताउनु भयो ।

अन्य

भिडियो