गरिबीका कारण विद्यालय छाडेरै मजदुरीमा लाग्नुपर्ने बाध्यता रहेको इस्मा गाउँपालिका-३ की ४० वर्षीय बिस्नी कुमालले गुनासो गरेकी छन् ।
उनले गरिबीका कारण आठ जना बालबच्चासहित ज्याला मजदुरीमा लाग्न बाध्य भएको गुनासो गरेकी हुन् ।
उनका अनुसार ४५ वर्षीय पति काले कुमाल र १७ वर्षीय छोरा चन्द्रबहादुरको दैनिकी नै ज्याला मजदुरीमा हिँड्ने गरेका छन् । हरेक दिन परिवारका दुवैजना पुरुष घर बाहिर जानुपर्ने भएकाले आफ्नै खेतीपाती र छरछिमेकमा ज्याला मजदुरी नगरे खान लाउन नै नपुग्ने बिस्नीले बताइन् । उनको सिङ्गो परिवार नै काममा लाग्ने गरेको छ ।
स्थानीय कुमारी निमाविका प्रध्यानाध्यापक निलकण्ठ भण्डारीका अनुसार विदामा मात्र होइन विद्यालय छोडेर पनि मेलापात, अम्बा, सुन्तला तथा माछा व्यापार गर्न हिँड्न बाध्य छन् । न्यून आय स्तर भएका कुमाल समुदायका बालबालिका कतै बाध्यता र कतै चेतनाको कमीले पनि विद्यालय नआउने गरेको प्रध्यानाध्यापक भण्डारीको तर्क छ ।
बस्तु, अम्मरपुर, इस्मालगायतका स्थानमा बस्ने कुमाल बालबालिका विदाको बेलामा मेला, महोत्सव र अन्य समयमा जिल्लाका थुप्रै स्थानमा केही न केही व्यापारमा पुग्ने गर्छन् । मौसम अनुसार पाइने अम्बा, सुन्तला, डौडे, काली निउरो, नास्पाती र कटहर उनीहरूको प्रमुख व्यापार हो ।






