नेपालको संविधान २०७२ को धारा ४१ मा ज्येष्ठ नागरिकको हक अन्तर्गत विषेश संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भनेर व्यवस्था गरिएको भएपनि आठ महिना बितिसक्दा पनि सामाजिक सुरक्षा बापतको भत्ता रकम वितरणमा ढिलाइ भएपछि ज्येष्ठ नागरिकहरु समस्यामा परेका छन् ।
चार/चार महिनामा पाउनु पर्ने सामाजिक सुरक्षा बापतको रकम आठ महिना बितिसक्दा समेत पाउन नसक्दा समस्यामा परेको तिला गाउँपालिका–४ का ७४ वर्षीय बालकृष्ण चौलागाईले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो–‘भत्ता आएपछि जाडोमा लुगा किनौला भन्ने आश थियो । जाडोपनि बित्यो । भत्ताको रकम पाएका छैनौँ ।’
सामाजिक सुरक्षा भत्ताबाटै औषधि उपचार गर्दै आएको भएपनि आठ महिनादेखि सामाजिक सुरक्षा भत्ताको रकम नपाएपछि उपचार तथा औषधि किन्न समस्या भएको तिला गाउँपालिका–४ का ७४ वर्षीया विजुली सिंहले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो–‘छोराबुहारीबाट समेत अपहेलित हुनु परेको छ । परिवारले नहेर्दा पनि सामाजिक सुरक्षा भत्ता बापतको रकम समयमा नै पाउन सकेको बेला समस्या थिएन । बिरामी छु । औषधि खानु पर्छ । भत्ता रकम पाएपछि उपचार गर्न जाउँला सोचेकी थिए । पहिला पहिला त समयमा नै घरैमा भत्ता आउँथ्यो । अहिले बैङ्कबाट बुझ्न समस्या छ । बैङ्क घरदेखि टाढा छ । त्यो पनि समयमै पाउन नसक्दा दैनिक गुजारा गर्न पनि समस्या भएको छ ।’
तिला गाउँपालिका–४ मा ज्येष्ठ नागरिक १ सय ५२ जना, विधुवा २७ जना, अपाङ्गता भएका व्यक्ति ३१ जना र बालबालिका २ सय ९९ जना गरी ५ सय १४ जना सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिक रहेका छन् ।
ज्येष्ठ नागरिक सङ्घ जुम्लाका अध्यक्ष तिर्थराज भारतीका अनुसार जुम्लासहित हिमाली जिल्लामा ६० वर्षमाथि उमेर समूहका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने सरकारले व्यवस्था गरेको छ ।
उहाँले भन्नु भयो–‘सरकारले ज्येष्ठ नागरिकलाई समाजिक सुरक्षा भत्ता दिने व्यवस्था गरेपनि समयमा वितरण हुने गरेको छैन । चार/चार महिनामा पाउनु पर्ने हो । तर, यहाँ आठ महिना बितिसक्दा पनि स्थानीय सरकारले सामाजिक सुरक्षा भत्ता वितरण नगर्नु दुखद् पक्ष हो ।’
तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढाले वडा नं ४ बाहेक अन्य वडामा सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको बताउनु भयो ।
उहाँले भन्नु भयो–‘यसअघि वडा कार्यालय तोडफोड हुँदा सामाजिक सुरक्षा भत्ता वितरणका श्रेस्ता कागजात नष्ट भएकाले वितरणमा ढिलाइ भएको हो । गाउँपालिकाले लगत सङ्कलन गरिरहेको छ । अब सामाजिक सुरक्षा भत्ता वितरण हुन्छ । कार्यालय तोडफोडको विषयमा पनि छानबिन समिति बनाएकोले अब समस्या समाधान हुने अपेक्षा गरिएको छ ।’
तिला गाउँपालिकामा ज्येष्ठ नागरिक १ हजार ८२ जना, विधुवा १ सय ७७ जना, अपाङ्गता भएका व्यक्ति १ सय ८३ जना र बालबालिका २ हजार ३० जना गरी सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ३ हजार ४ सय ९७ जना रहेका छन् ।