INSEC Online

📅 २०८३ जेष्ठ २१

अक्षर चिन्न ‘आमा’हरू निरन्तर कक्षा धाउँदै !

धुर्कोट गाउँपालिका-६ की ६० वर्षीया बाटुला परियारलाई पहिले वा अहिले बिहान खाए बेलुका के खाने भन्ने चिन्ता छ । ‘गाउँमा पहिले बाआमालाई पनि पढाउन भन्दा खुवाउन समस्या थियो ।’-उनले भनिन्-‘मैले पनि बल्लतल्ल छोराछोरी पढाएकी छु ।’ सानोमा गरिबीकै कारण पढ्ने इच्छा पुरा नभएपनि बुढेसकालमा ‘स्कूल’ जाने गरेको उनले बताइन् । हुनेखानेले पहिले नै पढेको भएपनि आफूहरूको त्यस्तो अवस्था नरहेको उनले बताइन् । ‘अहिले बैठकमा तैँले लेख्न जान्दिनस् भनेर ल्याप्चे लगा भन्दै कालो दिँदा मन दुख्छ ।’-धुर्कोट गाउँपालिका-६ की नमकला थापाले भनिन्-‘साह्रै मन दुख्थ्यो ।’ त्यसैले उनलाई किताब कापी बोकेर बुढेसकालमा निरन्तर कक्षमा पढ्न जाँदा खुब खुसी लाग्छ । धुर्कोट गाउँपालिका-६ कि गोमा कार्की (५५) लाई पढ्न लेख्न नपाएकोमा पछुतो छ । सबै हिसाव कितावमा गाह्रो हुने भएकाले गोमा आठै बजे मैदानको राधाकृष्ण मन्दिर पुग्छिन् । ‘राम्रोसँग पढौँ । केही न केही जानौँ भन्ने लाग्छ ।’-गोमाले भनिन्-‘बुढेसकालमा पढ्दा सोचेजस्तो गरी पढ्न नआउँदो रै’छ ।’ सत्यवति गाउँपालिका-६ जोहाङ्गकी पवित्रा भुसाल उमेरले ६० वर्षपुगिन् । कपाल फुलेर सेतै भइसकेको छ । तर, लेखपढ नहुँदा दिक्क लाग्ने गरेको उनले बताइन् । ‘आफ्नो नाम र मोवाइल चलाउने ठूलो धोको छ ।’-उनले भनिन् । त्यसैले बुढेसकालमा उनी अहिले गाउँमा सञ्चालन भएको निरन्तर कक्षामा पढ्न आउने गरेकी छन् । पवित्रा मात्र होइन अहिले उक्त स्थानका एक दर्जनभन्दा बढी ‘आमा’हरू गाउँमा सञ्चालन भएको निरन्तर कक्षामा नियमित पढ्ने गर्दछन् ।

Photo20170402Gulmi

साना बच्चाबच्चीलाई भन्दा उमेरले परिपक्व भएकालाई सिक्न र सम्झन गाह्रो हुने धुर्कोट रजस्थलका निरन्तर शिक्षा शिक्षक रघुनाथ पन्थीले बताए । घरको सबै काम सकेर आउनुपर्ने तथा फर्केर गएपछि काममै लाग्नुपर्ने बाध्यताले समयमै सिक्न गाह्रो भएको पन्थीले बताए । ‘सिकाउन कठिन हुँदो रहेछ । थुप्रो पटक भनेपछि मात्रै सम्झनुहुन्छ ।’-जोहाङ्गको निरन्तर कक्षा शिक्षिका इन्दिरा भुसालले भनिन्-‘तर, परिपक्व भएका आमाहरूलाई पढाउँदा सम्मानित महसुस हुन्छ ।’ फागुन १ गतेबाट सञ्चालन भएको साक्षरता कक्षामा पढ्न आउने आमाहरूमा धेरै परिर्वतन आएको शिक्षिका भुसालले बताइन् । कक्षा सञ्चालन भएको छोटो समयमै आमाहरूमा आएको परिर्वतनले आफू दङ्गसमेत परेको उनले बताइन् । ‘आफ्नो नाम र मोवाइल चलाउन सक्ने बन्न उनीहरूको ठूलो धोको थियो ।’-शिक्षिका भुसालले भनिन्-‘अहिले अक्षर र अङ्क चिन्नुभएको छ । एक दिन पनि कक्षा छोड्नु भएको छैन ।’

Photo20170402Gulmi1

जिल्ला शिक्षा कार्यालयका बिद्यालय निरीक्षक पिताम्बर पन्थीका अनुसार यो वर्ष जिल्लाका ९५ स्थानमा निरन्तर कक्षा सञ्चालन भएका छन् । २४ वटा सामुदायिक अध्ययन केन्द्रमार्फत साविकका गाविसहरूमा निरन्तर कक्षा सञ्चालन भएको निरीक्षक पन्थीले बताए । उनले अघिल्ला वर्षहरूमा सघन कक्षा सञ्चालन भएका स्थानमा यसपाली त्यस्ता कक्षा सञ्चालन नगरिएको बताए । कालीगण्डकी गाउँपालिकाको हर्मिचौर, सत्यवति गाउँपालिकाको जोहाङ्ग र मुसिकोट नगरपालिकाको आँपचौर, गुल्मी दरवार गाउँपालिकाको गौँडाकोट, छत्रकोट गाउँपालिकाको हुँगा, रूरू गाउँपालिकाको थानपतिमा सघन निरन्तर कक्षा सञ्चालन भएका छन् । त्यस्तै इस्मा गाउँपालिकाको अम्मरपुर, मदाने गाउँपालिकाको सिर्सेनी र धुर्कोट गाउँपालिकाको धुर्कोट रजस्थलमा सघन निरन्तर कक्षा सञ्चालन भएका छन् । अरू २४ वटा सामुदायिक अध्ययन केन्द्रहरूमा एक/एक वटा कक्षा सञ्चालन भएको उनले बताए । सबै कक्षा र अध्ययन केन्द्रहरूमा पाँच दिने तालिम पाएका सामाजिक परिचालक शिक्षक/शिक्षिकाका रूपमा क्रियाशील रहेका छन् ।

अन्य

भिडियो