कालिकोट तिलागुफा नगरपालिका–३ का ३१ वर्षीय कृष्ण हमाल ‘मिनी’को फागुन २१ गते सुर्खेतमा मृत्यु भएको छ ।
प्रहरीले नियन्त्रणमा लिएर निर्घात कुटपिट गरी घाइते बनाएको र उपचारका लागि अस्पताल ल्याउने क्रमममा बाटोमा मृत्यु भएको आफन्तको भनाइ छ ।
नेपालगञ्जबाट फागुन २० गते राति मिनि ट्रकमा सुर्खेत आउँदै गरेको अवस्थामा मदिरा सेवन गरेको भन्दै वीरेन्द्रनगरस्थित सुब्बाकुना प्रहरी चेकपोष्टमा केरकार गरी नियन्त्रणमा लिएको थियो ।
‘नेपालगञ्जदेखि पसलको सामान लिएर साढे ११ बजेतिर सुब्वाकुना चेकपोष्टमा आउँने क्रममा प्रहरीले ट्रक चालकलाई कागजात देखाउनुप¥यो, मदिरा सेवन नगर्दा पनि किन मदिरा सेवन गरेको भनेर दुःख दिने काम भएछ’ मृतक हमालको दाई नाता पर्ने रत्न पाण्डेले भन्नुभयो, ‘कृष्णले किन यसो गर्नुहुन्छ भन्दा उल्टै बढी बोल्छस् भनेर प्रहरीले गेटभित्र लगेर निर्घात कुटपिट गरेर करिव १२ बजेपछि मात्रै अन्तिम अवस्थामा गेटबाहिर निकाले छन् ।’
परिवार र आफन्तले प्रहरीको कुटाइबाट मृत्यु भएको भन्दै दोषिको पहिचान गरी कारवाही गर्नुपर्ने र पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् । मृतक हमालको शव प्रदेश अस्पताल सुर्खेतमा राखिएको छ भने, ट्रकका चालक र सहचालक सुर्खेत प्रहरीको नियन्त्रणमा रहेका छन् ।
अस्पताल नल्याउँदै बिरामीको मृत्यु भएको भन्दै अस्पतालले फागुन २१ गते विज्ञप्ती जारी गरेको छ । अस्पताल ल्याउँदा हमालको नाडीको गती, श्वास प्रश्वास, मुटुको धड्कन कुनै पनि नचलेको अस्पतालले जनाएको छ ।
यता, जिल्ला प्रशासन कार्यालय, सुर्खेतले घटनाको छानविनका लागि सहायक प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ ।
उक्त समितिमा जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद घर्ती, राष्ट्रिय अनुसन्धान सुर्खेतका अनुसन्धान अधिकृत गोपाल थापा, उच्च अदालत बार एसोसिएसन सुर्खेतका अध्यक्ष उत्तमप्रसाद आचार्य र प्रदेश अस्पतालमा कार्यरत डा. चन्द्रेश सिंह रहनुभएको छ ।
प्रशासनले घटनाको निष्पक्ष छानविन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न भनिएकोमा मृतकका आफन्तले सात दिन बनाउन आग्रह गरेपछि छानविन समितिले सात दिनभित्र प्रतिवेदन बुझाउने भएको छ ।
त्यस्तै, पीडितका आफन्तले प्रहरीको कुटाइबाट मृत्यु भएको दावी गर्दै सुब्बाकुना प्रहरी चेकपोष्टका ४२ वर्षीय असई शेर सिंह धामी विरूद्ध फागुन २२ गते जिल्ला प्रहरी कार्यालमा उजुरी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने अनुसन्धानको विषय भएको भन्दै घटना बारे विस्तृतमा जानकारी गराएका छैन । ‘घटनाको विषयमा अहिले केही भन्न सकिने अवस्था छैन, छानविन समिति पनि बनेको छ, प्रहरीले पनि घटनाको अनुसन्धान गर्छ, अनि सत्यतथ्य के हो भन्ने कुरा आउँला’ जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।