बलात्कारको आरोपमा चलचित्र अभिनेता पल शाहमाथि तनहुँ प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूमा आरोपका पक्ष र विपक्षमा भैरहेका प्रचारबाजी, प्रदर्शन तथा सार्वजनिक अभिव्यक्तिहरूप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
यस सम्बन्धमा आयोगले संयमित भई अनुसन्धान प्रक्रियालाई सघाउन आग्रह गर्दै विभिन्न माध्यमबाट अनुगमन तथा सूचना सङ्कलन गरिरहेको आयोगद्वारा ०७८ फागुन २० गते जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञिप्तिमा गम्भीर प्रकृतिको अपराधको अनुसन्धान फौजदारी न्यायको सिद्धान्त अनुसार गोप्य, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्ने उल्लेख गरिएको छ ।
अधिकारप्राप्त निकायबाट अनुसन्धान प्रक्रिया चलिरहँदा आरोपका पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्नाले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै अनुसन्धान प्रक्रिया समेत प्रभावित हुने सम्भावना रहने आयोगले जनाएको छ ।
यस प्रकारका गतिविधिले नेपालको संविधानको धारा २८ को गोपनीयताको हक र धारा २० मा उल्लेखित न्याय सम्बन्धी हक, मुलुकी फौजदारी संहिताको दफा २९८, मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १२ र नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको धारा १७ मा व्यवस्था भएको गोपनीयताको अधिकार समेत प्रभावित भएको विज्ञप्तिमा जनाइएको छ ।
अतः गम्भीर प्रकृतिको फौजदारी अपराधको अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने गरी पक्ष र विपक्षमा समाचार सम्प्रेषण नगर्न आयोगले जनाएको छ ।
यस सम्बन्धमा सम्बन्धित व्यक्तिको अनुमति विना भिडियोहरू रेकर्ड नगर्न आयोगले सचेत गराएको छ ।
रेकर्ड गरिएका भिडियोहरू सार्वजनिक नगर्न, अतिप्रचारका कारण प्रमाणहरू नष्ट हुनेतर्फ विचार पुर्याउन, आफूलाई प्राप्त प्रमाणहरू सार्वजनिक गर्र्नुको सट्टा अनुसन्धान अधिकारीहरूलाई उपलब्ध गराउन आयोगले भनेको छ ।
कसैले पनि पक्ष र विपक्षमा अभिव्यक्ति नदिन, आफ्ना विचार र अभिव्यक्ति सम्प्रेषण गर्दा अरुको मर्यादामा आँच आउनेतर्फ विचार पुर्याउन, गोपनीयताको हक सङ्कुचित हुन सक्नेतर्फ संवेदनशील र संयमित हुन तथा स्वतन्त्र अनुसन्धान प्रक्रियालाई सघाउन आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गरेको आयोगका सहायक प्रवक्ता लोकनाथ बास्तोलाले जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख छ ।