INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार मुद्दामा जिल्लाको अदालतको फैसला बदर, उच्च अदालतद्वारा १० वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत सङ्खुवासभाले गरेको फैसलालाई बदर गरी उच्च अदालत विराटनगर धनकुटाले खाँदवारी नगरपालिका–१ का २८ वर्षीय अष्टकुमार राईलाई १० वर्ष कैद सजाय तोकेको छ ।

उच्च अदालत विराटनगर धनकुटाले ०७८ फागुन ११ गते जिल्ला अदालतको फैसला बदर गर्दै १० वर्ष कैद सजाय र पीडितले पाउने गरी कसुरदारबाट २५ हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार केदारप्रसाद गौतमले बताउनु भयो ।

जिल्ला अदालतका न्यायाधीश शान्तिप्रसाद आर्चायको ०७७ कात्तिक १८ गते इजलासले कसुर गरेको ठहर गर्दै दुई वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

अदालतको फैसलापछि कसुरदारले ०७८ कात्तिक २९ गते दुई वर्षसम्म कारागारमा बसी सजाय भुक्तान गरेका थिए ।

पीडित बालिकालाई आरोपितले ०७६ कात्तिक २२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई कात्तिक ३० गते खाँदबारीबाट गिरफ्तार गरी जिल्ला अदालतमा मङसिर १० गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

उच्च अदालत विराटनगर धनकुटाको आदेशपछि प्रहरीले आरोपितलाई फागुन १५ गते खाँदबारीबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर शुभेष अधिकारीले इन्सेक प्रतिनिधिको फोन सम्पर्कमा बताउनु भयो ।

जिल्ला अदालतमा उपस्थित गराएर कसुरदारलाई  फागुन १६ गते कारागार चलान गरिएको इन्स्पेक्टर शुभेष अधिकारीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७८ कात्तिक २६ गते गरिएको थियो ।

अन्य

भिडियो