INSEC Online

📅 २०८३ जेष्ठ २१

आत्महत्या दुरुत्साहन कसुरमा डेढ वर्ष कैद

चार छोराछोरी सहित आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुकी बडुवालले आत्महत्या गरेको घटनामा दैलेख जिल्ला अदालतले सुकीका पति ३८ वर्षीय मानसिंह बडुवाललाई डेढ वर्ष कैद र १५ हजार रूपियाँ  जरिवाना गरेको छ ।

मुुलुकी अपराध सहिंता ऐन २०७४ को दफा १८५ को उपदफा ९२० बमोजिम जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट कसुरदारलाई फागुन १६ गते उक्त सजाय भएको दैलेख जिलला अदालतका सूचना अधिकारी टिकाराम न्यौपानले जानकारी दिनुभयो ।

गत वर्ष ०७७ फागुन २३ गते कर्णाली नदीमा सुकी बडुवाल, उनकी जेठी छोरी १५ वर्षीया कल्पना बडुवाल, माहिली छोरी १२ वर्षीया सरिता बडुवाल, कान्छी छोरी ७ वर्षीया रजनी बडुवाल र छोरा १० वर्षीय ललित बडुवाललाई आत्महत्या गर्न वाध्य पारेको भन्दै ०७७ चैत ११ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी परेको थियो ।

पारिवारिक विवादका कारण फागुन २४ गते १११ औं अन्तरराष्ट्रिय महिला दिवसका दिन विहान ४ वटै सन्तानलाई लिई सुकी समेत पाँच जनाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको आठबीस नगरपालिका–३ निमायलका वासिन्दा सुकीका भाई बजीरसिंह थापाले दिएको उजुरीमा उल्लेख छ ।

सुकी र चार छोराछोरीसमेतलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै दिइएको उजूरीको आधारमा प्रहरीले ०७७ चैत १२ गते प्रहरीले सुकीका पति मानसिंह बडुवाललाई गिरफ्तार गर्‍यो ।

आठबीस नगरपालिका–३ जाक्सी गाउँको तल कर्णाली नदीमा हाम फालेर ज्यान गुमाएका सुकी सहित पाँचै जनाको शव अछामको पञ्चदेवलबिनायक नगरपालिका–४ बेलखेत र अछामकै तुर्माखाँद गाउँपालिका–३ असाराघाट नजिक कर्णाली नदी किनारमा फरक फरक दिनमा फेला परेपछि अछामको मङ्गगलसेन अस्पतालमा ०७७ फागुन २५ गते र फागुन २७ गते शव परीक्षण गरिएको थियो ।

अछामको भूभागमा शव फेला परेको कारण मङ्गगलसेन अस्पतालमा शव परीक्षण गरिए पनि मृतकहरु दैलेखका बासिन्दा भएको कारण जिल्ला प्रहरी कार्यालय दैलेखमा मुद्दा चलाइएको थियो । घटनाका सम्वन्धमा प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकील कार्यालय मार्फत ०७७ चैत २९ गते दैलेख जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको थियो ।

मुद्दा दर्ता भएकै दिन दैलेख जिल्ला अदालतमा भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेकै इजलासबाट कसुरदारलाई पुर्पक्षका लागि थुनामा दैलेख कारागारमा राखिएको थियो ।

जिल्ला सरकारी वकील कार्यालयका कार्यालय प्रमुख जिल्ला न्यायाधिवक्ता हरि घिमिरेले कानूनमा तोकिए अनुसार पाँच वर्ष कैद र ५० हजार जरिवानाको सजायको मागदावी गर्नु भएको थियो भने दैलेख जिल्ला अदालतका वैतनिक वकील टेकबहादुर केसीले परिवारका सबैलाई आत्महत्या गर्न वाध्य पारेको नभई आमा सुकीको मनोगत उत्तेजनामा पाँच जनाको ज्यान गएको भन्दै कसुरदारलाई न्यूनतम् सजायको जिरह गर्नुभएको थियो ।

अन्य

भिडियो