मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध ०७८ फागुन १५ गते नयाँ बानेश्वर र बिजुलीबजार क्षेत्रमा भएको प्रदर्शनमा आन्दोलनकारी र प्रहरीबीच पटक झडप हुँदा आन्दोलनकारीतर्फ आठ जना, एक जना पत्रकार र प्रहरीतर्फ एकजना गरी १० जना घाइते भएका छन् ।
प्रदर्शनकारीले नयाँ बानेश्वरको एभरेष्ट होटल अगाडि प्रहरीले राखेको ब्यारीकेड तोडेर ढुङ्गा र लाठी प्रहार गर्दै निषेधित क्षेत्रतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले प्रदर्शनकारीतर्फ पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेको थियो ।
प्रदर्शनका क्रममा आन्दोलनकारीतर्फ घाइते हुनेहरूमा ललितपुरकी ३० वर्षीया सावित्री अधिकारी “विदुषी“, मोरङका २० वर्षीय निसान बस्नेत, काठमाडौँका २० वर्षीय अविनाश गिरी, काभ्रेपलान्चोककी १९ वर्षीया अस्मिता कुँवर, बाग्लुङ्गका ३० वर्षीय सोम शर्मा, काठमाडौँकी ३५ वर्षीया सपना पुन मगर, ललितपुरकी १९ वर्षीया प्रजिना दर्नाल र धनुषाका ३० वर्षीय रमेश बिश्वकर्मा रहेका छन् । सामान्य घाइतेहरूको नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखाको स्वास्थ्यकर्मीको टोलीले बिजुलीबजारमा मोबाइल एम्बुलेन्समा उपचार गरेको थियो ।
त्यस्तै आन्दोलनकै क्रममा प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गा लागेर शिलापत्र डट कमका पत्रकार काठमाडौँका २२ वर्षीय यमकुमार मुरेल सामान्य घाइते भएका छन् । घाँटीमा चोट लागेका उनी नयाँ बानेश्वरको एभरेष्ट अस्पतालमा उपचारपछि कार्यालय फर्किएका छन् ।
त्यसतै प्रहरीतर्फ घाइते हुनेमा २४ वर्षीय प्रहरी जवान गुल्मीका चन्द्र बहादुर मुखिया रहेका छन्। हातको औंलामा चोट लागेका प्रहरी जवानको अवस्था सामान्य छ ।
