INSEC Online

📅 २०८३ जेष्ठ २१

आवश्यकताभन्दा बढी बल प्रयोग नगरः आयोग

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको विरोधमा विगत केही दिनदेखि हुँदै आइरहेको प्रदर्शनको क्रममा हिंसात्मक गतिविधि भएको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विरोध प्रदर्शनको आयोगले स्थलगत तथा विभिन्न माध्यममार्फत नजिकबाट अनुगमन गरिरहेको ०७८ फागुन १२ गते जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिनिधि सभामा अनुमोदनका लागि पेश भएको एमसीसी सम्झौताको विरोधमा विभिन्न राजनीतिक दल, तिनका भातृ संगठनका कार्यकर्ता तथा सर्वसाधारणले बिरोध प्रदर्शन गर्दै आइरहेको पाइएको आयोगले उल्लेख गरेको छ ।

पछिल्लो समय फागुन ८ गते काठमाडौँको नयाँ बानेश्वरमा भएको विरोध प्रदर्शनको क्रममा प्रदर्शनकारीहरूले सडक छेउमा ओच्छ्याइएको ढुङ्गा, इट्टालगायतले सुरक्षाकर्मीमाथि आक्रमण गर्दा २१ जना सुरक्षाकर्मी तथा केही प्रदर्शनकारीहरू घाइते भएको आयोगले जनाएको छ ।

उक्त क्षेत्रमा रहेका सर्वसाधारणका पसल तथा भौतिक संरचनाहरूमा समेत क्षति पुगेको पाइएको विज्ञप्तिमा उल्लेख छ ।

प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीबाट समेत आवश्यकताभन्दा बढी बल प्रयोग भएको आयोगको अनुगमनबाट पाइएको आयोगले जनाएको छ ।

शान्तिपूर्ण रुपमा भेला हुने, विरोध प्रदर्शन गर्ने र असहमति जनाउने संवैधानिक तथा मौलिक हक भए तापनि विरोध र असहमतिको नाममा हिंसात्मक कार्य हुनु अत्यन्त दुःखद र खेदजनक भएको विज्ञप्तिमा उल्लेख छ ।

यस्ता कार्यहरू मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १९ र २०, नेपाल पक्ष राष्ट्र रहेको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६६ को धारा १९ र नेपालको संविधानको धारा १७ को समेत विपरीत हुने देखिएको आयोगले स्मरण गरेको छ ।

साथै, यस प्रकारका गतिविधिले नेपालको कानूनले आमनागरिकलाई प्रदान गरेका कानुनी हक एवम् आधारभूत मानव अधिकारको उपभोगमा समेत बाधा उत्पन्न हुन जाने आयोगको ठहर छ ।

अतः नागरिकको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानव अधिकारको सम्मान गर्न, आवश्यकताभन्दा बढी बल प्रयोग नगर्न र शान्ति सुरक्षा कायम गर्दा संयमित हुन नेपाल सरकार एवम् सम्बद्ध निकायहरूलाई आयोगले आग्रह गरेको छ ।

साथै, आफ्नो विरोध प्रदर्शनलाई शान्तिपूर्ण बनाउन, सर्वसाधारण व्यक्तिका सम्पत्ति र भौतिक संरचनाहरूमा क्षति नपुर्याउन भनिएको छ ।

विरोध प्रदर्शन गर्दा संयमित हुन तथा आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको उपभोगमा अवरोध नपु¥याउन आयोग विरोध प्रदर्शनमा उत्रिएका

राजनीतिक दल, राजनीतिक दलका भातृ सङ्गठन तथा सर्वसाधारणलाई आग्रह गरिएको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

अन्य

भिडियो