INSEC Online

📅 २०८३ जेष्ठ २१

चेपाङको बसोवास अधिकार खोसिएको आयोगको भनाई

कालिका नगरपालिका–९ स्थित कोलार गाउँमा चुनढुङ्गा उत्खननबाट अति सीमान्तकृत चेपाङ समुदायको बसोवासको अधिकार हनन भएको सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले चासो दिएको छ ।

आयोगले चुनढुङ्गा खानीको उत्खनन र यसले स्थानीय चेपाङसमुदायको अधिकारमा पारेको प्रभावबारे फागुन १२ गते भरतपुरमा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिएको हो ।

ऐतिहासिक उपरदाङ गढी क्षेत्र समेत प्रभावित हुने यस क्षेत्रमा चेपाङ समुदायको हकअधिकार, सुविधालाई बेवास्ता गरी चुनढुङ्गा खानी सञ्चालन भएको भनी आयोगले स्थलगत अध्ययन गरेको छ ।

अध्ययनबाट पाएको प्रारम्भीक नतिजामा चेपाङ समुदाय खानीबाट लाभान्वित हुनु पर्नेमा प्रभावित भएको आयोगका सहसचिव नवराज सापकोटाले बताउनु भयो । त्यस क्षेत्रमा ३५ घर चेपाङ जातिको वसोवास छ ।

आयोगका सहसचिव हरि ज्ञवालीले भन्नु भयो, ‘उनीहरूको बसोवाससँग सम्बन्धित मानव अधिकारको हनन भएको पाइन्छ, यस विषयमा स्थानीय सरकार, खानी सञ्चालकको पनि ध्यानार्षण गराएका छौँ ।’ चुनढङ्ंगा खानी हाल उत्खनन स्थगित छ । स्टार लाइन कम्पनीले खानी उत्खनन गरी सिमेन्टका लागि ढुवानी गर्ने गरेको छ ।

खानी उत्खननबाट प्रभावित कुुसुमबहादुर चेपाङले सस्तो मुल्यमा जबरजस्ती जग्गा खरिद गरेको र त्यो मूल्यले अन्त जग्गा किनेर बस्न नसकेपछि पुनः कतिपय मानिसहरू गाउँ नै फर्किएको बताउनु भयो ।

जग्गा किन्दा कतिपयले घरको मुअब्जा नपाएको उहाँको भनाइ छ । साथै खानीले सामाजिक उत्तरदायित्व अन्तर्गत दिने भनेको सुविधा समेत नदिएको उहाँले गुनासो गर्नु भयो ।

बसोवास, जिविकोपार्जन, स्वास्थ्य, शिक्षा, सहज आवागमनलगायका अधिकारबाट आफूहरू बञ्चित रहेको भन्दै चेपाङले आयोगले पहल गरेमा अधिकार पाइने विश्वास व्यक्त गर्नु भयो ।

खानी पुन सञ्चालनमा आएमा नजिकैको महाकाली आधारभूत विद्यालयमा पढ्नका लागि आउने देउराली गाउँमा १६ जना विद्यार्थीको पढाइ पनि प्रभावित हुने आयोगले जनाएको छ ।

खानीको बाटो भएर विद्यालय आउजाउ गर्न असमर्थ हुने भएकाले र अर्को बाटो प्रयोग गर्दा धेरै समय लाग्ने भएकाले ती बालबालिकाको शिक्षाको अधिकारबाट पनि बञ्चित हुने आयोगको स्थलगत अनुगमनमा देखिएको सहसचिव ज्ञवालीले बताउनु भयो ।

अन्य

भिडियो