बडिमालिका नगरपालिका–८ मा रहेको श्री जनप्रकाश आधारभूत विद्यालय, रतुडामा कार्यरत शिक्षिकाहरु महिनावारी भएको समय विद्यालय नजाँने गरेको कारण पठनपाठनमा समस्या हुने गरेको छ ।
महिनावारी भएको समय विद्यालयमा जाँदा देउता रिसाएर अनिष्ट हुने अन्धविश्वासका कारण महिनावारी भएको समयमा शिक्षिकाहरु विद्यालय नजाने गरेको स्थानीयहरुले बताउनु भएको छ ।
विद्यालय रहेको स्थान रतुडा देउताको ओहोरदोहोर गर्ने मुख्य बाटोमा रहेकोले महिनावारी भएको समयमा विद्यालय जाँदा देवता रिसाउने मान्यताका कारण विद्यालय नजाने गरेको शिक्षिका नीरा बिष्टले बताउनु भयो ।

तीन कक्षासम्म अध्यापन गरिने श्री जनप्रकाश आधारभूत विद्यालयमा दुई जना शिक्षिका र एक जना शिक्षक गरी तीन जना कार्यरत रहनु भएको छ ।
दुबै जना शिक्षिका महिनावारी भएको पाँच दिनसम्म विद्यालयमा नआउने गरेको कारण बालबालिकाको पढाई प्रभावित हुँदै आएको स्थानीय अभिभावक गोरखबहादुर अयडीले बताउनु भयो ।
उहाँले भन्नु भयो– महिनामा दुई जना शिक्षिका १० दिन विद्यालय आउनु हुन्न् । वर्षमा १ सय २० दिन अनुपस्थित हुने गरेका छन् । महिनावारी भएको समयमा शिक्षिका विद्यालय नआइदिएपछि बालबालिकाको पढाइ नै प्रभावित हुने गरेको छ ।
शिक्षिका नीरा बिष्टले महिनावारी भएको समय विद्यालयमा अनुपस्थित हुने गरेको स्विकार गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘स्थानीय महिलाहरु कोही पनि यो ठाउँमा आउनु हुन्न । यो ठाउँ देउताको थलि हो । महिनावारी भएको समय आएमा अनिष्ट हुन्छ भन्छन् । डर लागेर महिनावारी भएको समयमा विद्यालय आउन नसकेको हो । स्थानीय महिलाहरुले आउने आट गरे म पनि विद्यालयमा जाने आँट गर्छु ।’
बडिमालिका नगरपालिकाकी उपप्रमुख कबिता विष्टले यो बिषय विगतदेखि नै छलफलमा रहेकाले देउताका धामी, पुजारी, स्थानीय र महिलाहरु सबैलाई सामुहीक रुपमा राखेर यसको समाधान खोज्नु पर्ने बताउनु भयो ।

यसभन्दा अगाडी पनि धेरै पटक अन्धविश्वास हो केही हुन्न भन्दा पनि स्थानीय महिला तथा शिक्षिकाहरुले आउने आट नगरको र चाँडै सामुहिक छलफलका माध्यमबाट समस्या समाधान गरिने उपप्रमुख विष्टको भनाइ छ ।
उहाँले नगरपालिकाका वडा नम्बर ३, ४, ५, ६ र ९ मा अन्धविश्वासका विरुद्धमा सचेतनाका कार्यक्रम गर्दै यी वडाहरुलाई छाउगोठ मुक्त घोषण समेत गरिएको र वडा नम्बर १, २, ७ र ८ मा पनि सचेतना तथा अन्धविश्वासका विरुद्धमा कार्यक्रमहरु सञ्चालन गरिने तयारीमा रहेको बताउनु भयो ।