INSEC Online

📅 २०८३ जेष्ठ २१

कैदी बन्दीलाई खानेपानीको अभाव, पानी किन्न मात्रै मासिक ७५ हजार खर्च !

जिल्ला कारागार सल्यानमा खानेपानीको अभाव भएको छ । कारागारमा खानेपानी अभाव भएपछि कारागारका कैदी बन्दीहरूले गर्ने दैनिक क्रियाकलापमा प्रत्यक्ष असर पुगेको जेलर विक्रम केसीले जानकारी दिए ।

उनका अनुसार जिल्ला कारागार सल्यानमा गएको कात्तिकदेखि धारामा पानी आएको छैन । ६ महिनादेखि धारामा पानी नआएपछि जिल्ला कारागारले दैनिक दुई ट्याङकर पानी किन्दै आएको जेलर केसीले बताए ।

इन्सेक प्रतिनिधिसँग कुरा गर्दै उनले भने-‘हामीले कैदी बन्दीहरूका लागि नुहाइधुवाई लगायतका कामका लागि महिनामा करिव २५ ट्याङ्कर खोलाको र ५ ट्याङ्कर पिउने पानी किनिरहेका छौँ । अहिले पानीको मात्रै महिनाको ७५ हजार रुपियाँको खर्च भएको छ ।’

उनले यसरी पानी किन्दासमेत कैदी बन्दीलाई नपुगेको बताए । खानेपानी नियमित रूपमा धारामा नआएकोबारे सम्बन्धित निकायलाई आग्रह गर्दा पनि बिचबिचमा पाइप फुटेको तथा मर्मत नगर्दा धारामा पानी नआएको भनेर पन्छने गरेको उनले बताए ।

‘घ’ श्रेणीको जिल्ला कारागारमा हाल ७० जना पुरूष, १५ जना महिला र २ जना नाबालक छन् । ती मध्ये ६५ जना कैदी हुन् भने बाँकी थुनुवा हुन् । कैदी बन्दी र कर्मचारी तथा सुरक्षाकर्मी गरी १ सय १० जनालाई पानी पुर्‍याउन मुस्किल भएको जेलरले बताए । क्षमता भन्दा चारगुणा बढि कैदी बन्दी हुँदा त्यसको प्रत्यक्ष असर उनीहरूको खानपान र सरसफाईमा परेको कारागारका कैदी बन्दीहरूले बताएका छन् ।

ट्याङ्करबाट ल्याएको पानीले पर्याप्त मात्रामा नुहाउन, कपडा धुन र शौचालयमा प्रयोग गर्नसमेत नपुग्ने गरेको कैदी महेन्द्र थापाले बताए ।

अन्य

भिडियो