सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा टेबल गर्न लागेको विरोधमा काठमाडौँको नयाँ बानेश्वरमा विभिन्न राजनीतिक दलसम्बद्ध नेता कार्यकर्ताले ०७८ फागुन ४ गते विरोध प्रदर्शन गर्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भयो ।

नयाँ बानेश्वरको एभरेस्ट होटल अगाडि र सङ्घीय संसद भवनको मिनभवनतर्फको एक नंबर गेट तर्फ निषेधित क्षेत्र अगाडि राखिएको काँडेबार हटाएर प्रदर्शनकारीले प्रहरीतर्फ ढुङ्गा र इँटा प्रहार गर्दै संसद भवनतर्फ अघि बढ्न खोजेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन पानीको फोहोरा फाल्नुका साथै अश्रुग्यास प्रहार र लाठीचार्ज गरेको थियो ।
झडपका क्रममा नौ जना प्रदर्शनकारी र चार जना प्रहरी घाइते भएका छन् । घाइते हुनेमा प्रदर्शनकारी तर्फ भक्तपुर निवासी उमेश भण्डारी, काठमाडौँ निवासी, निर्घ नविन कास्कीका सुमन देवकोटा, महोत्तरीका सञ्जय कुमार महतो, सिन्धुपाल्चोकका नमुना सापकोटा, बझाङका विप्लब खड्का रहेको छ ।
घाइते रहेका प्रदर्शनकारीमध्ये बझाङ्का विप्लब खड्काको टाउको, ढाड र खुट्टटामा चोट लागेकाले नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालको इमर्जेन्सी कक्षमा उपचार भयो ।
त्यस्तै झडपका क्रममा प्रदर्शनकारीको ढङ्गा प्रहारबाट मकालुखबरका फोटो पत्रकार सरोज बस्नेतको कन्चटमा ढुङ्गा लागेको थियो । घाइते भएका पत्रार बस्नेत काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचारपछि घर फर्किएका छन् ।
झडपकै क्रममा प्रदर्शनकारीको इँटा र ढुङ्गा प्रहारबाट प्रहरी जवान सिसिर बस्नेत र सुदिप श्रेष्ठको हातमा चोट लागेको छ भने असई श्याम कार्की र सशस्त्र प्रहरीका हवल्दार पदम खड्काको खुट्टामा चोट लागेको छ । घाइते भएका सुरक्षाकर्मीहरूको निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा उपचार भयो ।
प्रदर्शनका क्रममा अन्दोलनकारीले नेपाल प्रहरीको बा १ ग २११४ नम्बरको टाटा पिकअप गाडीमा ढुङ्गा प्रहार गरेर क्षति पुर्याएका छन् । आन्दोलनकारीको ढुङ्गा प्रहारबाट गाडीको अगाडिको भागको सिसा फुटेको छ ।
यसैबीच, विरोध प्रदर्शन गर्ने ९२ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गर्न लागेको विरोधमा प्रदर्शनमा उत्रिएका सत्तारुढ नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र प्रतिपक्षी दल राप्रपाका कार्यकर्ताहरूलाई प्रहरीले नयाँ बानेश्वर, मिनभवन र बबरमहल क्षेत्रबाट गिरफ्तार गरी महानगरिय प्रहरी वृत सिंहदरवा, सुविधानगर लगायतका ठाउँमा राखेकोमा गरेकोमा साँझ छाडेको छ ।

