INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीद्वारा आठ जना बन्दकर्ता गिरफ्तार

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को खारेजीको माग गर्दै फागुन ४ गते आयोजित नेपाल बन्द सफल पार्न खटिएका आठ जना बन्दकर्तालाई तनहुँ प्रहरीले गिरफ्तार गरेको छ ।

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र समाजवादी र देशभक्त गणतान्त्रिक मोर्चा नेपालले आह्वान गरेको नेपाल बन्द सफल पार्न सडकमा नारा लगाउँदै हिडे्का बन्दकर्ताहरूलाई दमौलीको भोर्लेटार चोकबाट प्रहरीले गिरफ्तार गरेको हो ।

गिरफ्तार गरिएकोमा विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य रोल्पा घर भइ हाल तनहुँ बस्ने ४० वर्षीय पुर्णजित पुन र ४५ वर्षीय रुपेश वाग्ले, सो पार्टीका जिल्ला सचिव ऋषिङ गाउँपालिकाका ३५ वर्षीय राजु विक एटम, जिल्ला सदस्य एवमं व्यास नगरपालिका इञ्चार्ज व्यास नगरपालिका–१ का ४५ बर्षीय ओमबिक्रम पन्त, मगर मुक्ति मोर्चाका जिल्ला अध्यक्ष ५० वर्षीय धनबहादुर राना, मजदुर संगठनका जिल्ला सदस्य ४५ वर्षीय चिजबहादुर भण्डारी, देशभक्त गणतान्त्रिक मोर्चा नेपालका गण्डकी प्रदेश अध्यक्ष व्यास नगरपालिका–३ का ४५ वर्षीय नेत्र रानाभाट र नेकपा माओवादी क्रान्तिकारीका जिल्ला सचिव भिमाद नगरपालिकाका ४५ वर्षीय नारायण लम्साल रहेका छन् ।

गिरफ्तार गरिएका सबैलाई साँझ पाँच बजे रिहा गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी युवराज खड्काले बताउनुभयो ।

Photo20220216Tanahun

अन्य

भिडियो