INSEC Online

📅 २०८३ जेष्ठ २१

बालक अपहरण घटनाका तीन जना आरोपित गिरफ्तार

जनकपुरधाम उपमहानगरपालिका–६ महाराज टोल बस्दै आएकी मोहम्द अमिर राइनका सात महिने छोरा अख्तर राइनलाई अपहरण गरेको आरोपमा प्रहरीले गणेशमान चारनाथ नगरपालिका–१० डुमरिया बस्ने ३५ वर्षीया मनिषादेवी मुखिया, औरही गाउँपालिका–१ पौडेश्वर घर भइ हाल जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने २० वर्षीया किरण राम र महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्बर–४ घर भइ हाल जनकपुरधाम उपमहानगरपालिका–७ बस्ने २२ वर्षीय कृष्णकुमार यादवलाई माघ २७ गते गिरफ्तार गरेको छ ।

महाराज सागर पोखरीको डिलमा ६ वर्षीया दिदी एलिजा खातुनले सात महिने भाइलाई खेलाइरहेको बेला आरोपित मनिषादेवी मुखियाले एलिजालाई ५० रुपियाँ दिएर कुरकुरे किन्न पठाई अख्तर राइनलाई लिएर भागेको पीडितको आरोप छ ।

बच्चालाई अपहरण गरी जनकपुरधाम उपमहानगरपालिका–१९ बेगाशिवपुरको पिपराढीस्थित सञ्चालनमा रहेको हाँस तथा भैँसी फार्मको पछाडि खेतमा भाग्दै गरेको अवस्थामा आरोपितहरुलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी बसन्त रजौरले बताउनु भयो ।

गिरफ्तार भएका कृष्ण कुमारले मनिषासँग १३ हजार रुपियाँ लिई बच्चा उपलब्ध गराउने शर्त राखेको कुरा अनुसन्धानमा खुलेको उनले जानकारी दिए ।

गिरफ्तार भएकाहरूमाथि अपहरणसम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान सुरू गरिएको धनुषा प्रहरीले जनाएको छ ।

अन्य

भिडियो